काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नहुने औपचारिक जानकारी गराएका छन्।
नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिका सभापतिलाई सम्बोधन गर्दै बडूले पार्टीको आन्तरिक छलफल, समसामयिक राजनीतिक परिस्थिति तथा पुस्तान्तरणको आवश्यकता मध्यनजर गर्दै आफू उम्मेदवारीको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको स्पष्ट गरेका हुन्।
उनले पार्टीको केन्द्रीय परिपत्रअनुसार जिल्ला कार्यसमितिको विस्तारित बैठकमा हालको राष्ट्रिय राजनीतिक अवस्था, विशेषगरी हालै सम्पन्न जनआन्दोलनबाट सिर्जित राजनीतिक तथा सामाजिक सन्दर्भबारे आफ्नो धारणा र सुझाव प्रस्तुत गरेको उल्लेख गरेका छन्। सोही क्रममा पार्टीको रूपान्तरण, युवापुस्ताको आकांक्षा र समयको आवाजलाई सम्मान गर्दै आफूले उम्मेदवारीबाट विश्राम लिने प्रस्ताव अघि सारेको जनाएका छन्।
बडूले आफ्नो प्रस्तावलाई जिल्ला कार्यसमितिको विस्तारित बैठकमा उपस्थित सम्पूर्ण शुभेच्छुक तथा साथीहरूले सर्वसम्मत रूपमा समर्थन गरेकोप्रति आभार व्यक्त गरेका छन्। साथै, पार्टीभित्र निरन्तर सक्रिय, सक्षम र योग्य नयाँ पुस्ताका नेताहरूलाई उम्मेदवारका रूपमा अघि बढाउन पार्टी केन्द्रमा सिफारिस गरिने व्यवस्था गर्न अनुरोध गरेका छन्।
उनले आफू उम्मेदवार नभए पनि पार्टीका उम्मेदवारलाई विजयी गराउन पूर्ण शक्ति र क्षमतासहित सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
विज्ञप्ति:


