-खडग पाण्डे
हाम्रो समाजमा प्रचलित एउटा वाक्य छ त्यो हो- “समाजले के भन्ला?” यही वाक्यबाट हाम्रो समाज नियन्त्रित छ, निर्देशित छ। यो नै प्राय सबै मानिसहरूको सोच, व्यवहार र जीवन–निर्णयमाथि अदृश्य शासन चलाउने शक्तिशाली औजार हो। मानिसको हैसियत, चाहना, क्षमता र विवेकले होइन, जीवनका साना–ठूला सबै निर्णयहरू यही वाक्यले निर्देशित गरिरहेको छ। फलस्वरूप, हाम्रो समाजमा स्वाभाविक जीवनभन्दा देखावटी जीवन, आत्मिक सन्तुष्टिभन्दा बाहिरी स्वीकृति, र चेतनशील निर्णयभन्दा लोकाचारको अन्धानुकरण हाबी भएको देखिन्छ।
“समाजले के भन्ला?” यो केवल प्रश्न होइन समाजले निर्धारण गरेको कानुन हो। ‘समाजले के भन्ला’ भन्ने वाक्यमा तर्क, विवेक र प्रश्न हुँदैन; मात्र स्वीकार खोजिन्छ। यहाँ मानिस जन्मिँदासँगसँगै समाजको डर पनि सँगै जन्मिन्छ। मान्छे हिँड्न सिक्नुअघि समाजको नजरबाट बच्न सिक्छ।
“ए, त्यस्तो कपडा लगाएर बाहिर ननिस्क।” किन? चिसो लाग्छ भनेर होइन। लाज छोपीदैन भनेर पनि होइन, समाजले के भन्ला भन्ने डरले। छोरी मान्छे भएर यति उन्मुक्त भएर नहाँस, समाजले राम्रो मान्दैन। हाँसो पनि अनुमति लिएर गर्नुपर्ने सामाजिक अपराध बनेको छ। “यो उमेरसम्म पनि बिहे किन नगरेको?” समाजले के भन्ला? मानौँ जीवनको उद्देश्य समाजलाई रिपोर्ट बुझाउनु हो, समाजका हरेक अन्टसन्ट प्रश्नहरूको जवाफ दिनु हो।
छोरी -बुहारीले यति खुलेर बोल्नु हुँदैन, समाजले राम्रो मान्दैन। समाजले उत्ताउली भन्छ। छोरी -बुहारी चुप लागेर सहनु यहाँ समाजका लागि चरित्रको प्रमाणपत्र हो। आफ्नो मान्छेसँग यति टाढा नबस, समाजले शंका गर्छ। यो काम इज्जतको होइन, मान्छेले के भन्ला? यहाँ इज्जत समाजले दिन्छ, मेहनतले होइन। छिमेकीको छोरो त विदेश गइसक्यो, तिमी के हेरेर बसेको? समाजले हुतिहारा भन्छ। विवाहमा अलि खर्च गर्नै पर्छ, नत्र समाजले कुरा काट्छ। ऋणले घर डुबाओस्, तर समाजले “छ्या” नभनोस। दुई-चार तोला सुन नलगाएर बाहिर गयो भने जोरिपारिले के भन्लान्? घर सानो भयो भने समाजमा इज्जत घट्छ। मन ठूलो हुनु यहाँ काम लाग्दैन। पूजा नगरे समाजले औँला उठाउँछ। आस्था नहुँदा पनि धार्मिक अभिनय गर्नै पर्छ। यहाँ भगवान्भन्दा समाज डरलाग्दो छ। आदि इत्यादि।
मानिस सामाजिक प्राणी हो भन्ने कुरा निर्विवाद छ। तर समाजसँग घुलमिल हुनु र समाजको डरमा बाँधिनु एउटै कुरा होइन। दुर्भाग्यवश, हाम्रो समाजमा सामाजिक स्वीकार्यता आत्मसम्मानको मापन बनेको छ। आफूले चाहेको भन्दा समाजले अपेक्षा गरेको जीवन बाँच्नु नै ‘उत्तम’ ठानिन्छ। यही कारणले मानिसहरू आफ्नो क्षमता नपुग्ने भोज गर्छन्, हैसियतले नधानेको खर्च गर्छन्, र आफ्नै इच्छाको घाँटी निमोठेर अरूलाई देखाउन जीवन सजाउँछन्।
दार्शनिक फ्रेडरिक नित्सेले भनेका छन्- “व्यक्तिले सधैँ समूहद्वारा निचोरिनबाट आफूलाई जोगाउन संघर्ष गर्नुपरेको छ।” (The individual has always had to struggle to keep from being overwhelmed by the tribe.) नेपालमा यही “ट्राइब” अर्थात् समूह वा समाज नै सर्वोच्च न्यायाधीश बनेको छ। विवाह होस् वा मृत्यु संस्कार, जन्मदिन होस् वा पास्नी, पूजा-पाठ होस् वा तीर्थयात्रा सबै कुरा आत्मीयता र आवश्यकताले होइन, “समाजले वा अरू मान्छेले के भन्लान्?” भन्ने गणनाले तय गरिन्छ।, घरभित्र आर्थिक संकट भए पनि बाहिर भव्य भोज अनिवार्य हुन्छ। ऋणले थिचिएको परिवारले समेत सामाजिक प्रतिष्ठाको भारी बोक्नैपर्छ, किनकि गरिब देखिनु यहाँ लाज मानिन्छ, तर ऋणमा सम्पन्न देखिनु सम्मान ठानिन्छ।
दार्शनिक ज्याँ बौद्रिया भन्छन्-“हामी यस्तो संसारमा बाँच्छौँ जहाँ वास्तविकताभन्दा बाह्य रूपलाई बढी महत्व दिइन्छ।” (We live in a world where appearances matter more than reality.) हाम्रो समाजमा यो भनाइ अत्यन्त सान्दर्भिक देखिन्छ। संस्कार-कर्म आत्मशुद्धिका लागि होइन, फोटो खिच्नका लागि गरिन्छ। पीडा पनि तबसम्म मान्य हुँदैन, जबसम्म त्यो सामाजिक सञ्जालमा ‘सजिएको’ नहोस्।
सबैभन्दा गम्भीर समस्या भनेको “समाजले के भन्ला?” भन्ने डरले व्यक्तिको आत्मनिर्णय क्षमता समाप्त पार्नु हो। कतिपय युवा आफ्नो रुचि र प्रतिभा हुँदाहुँदै पनि समाजले ‘सम्मानित’ ठानेको पेशा रोज्न बाध्य हुन्छन्। कतिपय महिलाहरू आफ्नो जीवन-निर्णयमा होइन, समाजको नैतिकताको सूचीमा बाँधिन्छन्। यहाँ विवाह, मातृत्व, धैर्य र सहनशीलता स्त्री कर्तव्यका रूपमा प्रस्तुत गरिन्छ, जबकि पुरुषका लागि ती नै कुरा वैकल्पिक मानिन्छन्।
ओशोको एउटा भनाइ यहाँ स्मरणीय छ- “समाज तपाईंलाई मौलिक बनाउन होइन, एउटै ढाँचाको नक्कली प्रतिलिपि बनाउन इच्छुक हुन्छ।” (Society is interested in making you a carbon copy, not an original.) समाजलाई मौलिक व्यक्ति होइन, आज्ञाकारी प्रतिलिपि चाहिएको छ। त्यसैले प्रश्न गर्नेभन्दा लुरुलुरु पछि लाग्ने, फरक देखिनेभन्दा मिल्ने, आफ्नै बाटो हिँड्नेभन्दा भिडसँग बग्ने व्यवहारलाई प्रोत्साहन गरिन्छ।
विडम्बना के छ भने समाज कहिल्यै सन्तुष्ट हुँदैन। आज एउटा अपेक्षा पूरा गर्यो भने भोलि अर्को थपिन्छ। एउटा तहको इज्जत जोगाएपछि अर्को तहको प्रदर्शन आवश्यक हुन्छ। यसरी मानिस जीवनभर समाजलाई खुसी पार्ने दौडमा दौडिरहन्छ, तर अन्ततः आफूलाई नै गुमाउँछ।
अल्बर्ट आइन्स्टाइनले चेतावनी दिएका थिए-“अधिकारमा अन्ध विश्वास सत्यको सबैभन्दा ठूलो शत्रु हो। ”(Blind belief in authority is the greatest enemy of truth.) यहाँ त्यो ‘अधिकार’ कानुन होइन, सामाजिक धारणा र लोकाचार हो।
“समाजले के भन्ला?” भन्ने प्रश्न आफैंमा समस्या होइन; समस्या तब हुन्छ, जब यही प्रश्नले मानिसको विवेक, चाहना र आत्मसम्मानमाथि पूर्ण नियन्त्रण जमाउँछ। समाज सुधार व्यक्तिबाट सुरु हुन्छ, र व्यक्ति सुधार आत्मस्वीकृतिबाट। जबसम्म मानिसले समाजको डरभन्दा आफ्नै सत्यलाई ठूलो ठान्दैन, तबसम्म देखावटी जीवनको यो चक्र तोडिँदैन। जीवन समाजलाई देखाउन होइन, आफू भएर बाँच्नका लागि हो।
लोकाचार भन्नाले समाजमा पुस्तौँदेखि चल्दै आएका चलन, रीतिरिवाज, परम्परा, व्यवहार र दृष्टिकोणलाई सम्मानको नाममा पालना गरिँदै आएका क्रियाकलापहरूलाई बुझिन्छ। यी कुनै लिखित कानुन वा बाध्यकारी नियम होइनन्, तर समाजले आफैं निर्माण गरेका र सामाजिक स्वीकृतिले गाँसेका अदृश्य बन्धनहरू हुन्।
यी नियमहरू पालना गराउन समाजमा एक किसिमको डर र त्रास रोपिन्छ। जसले मान्दैन, उसलाई ‘असभ्य’, ‘परम्पराविरोधी’ वा ‘समाज भडुवा’ जस्ता आरोपको भयले सधैं पछ्याइरहन्छ। यही डरले मानिसलाई आफ्नो आर्थिक हैसियत, व्यक्तिगत चाहना र व्यवहारिक आवश्यकताभन्दा धेरै पर धकेल्छ। ऋण काढेर भए पनि विवाहमा ठूला भोज र महँगो तामझाम गर्नुपर्छ। मन नलाग्दा–नलाग्दै चाडपर्वमा पूजा–पाठ र दान–दक्षिणा गर्नैपर्छ। छोरीको विवाहमा समाजले कुरा काट्ला भन्ने डरले अनावश्यक खर्च र दाइजो जस्ता प्रथालाई निरन्तरता दिनुपर्छ। मृत्युसंस्कारमा पनि शोकभन्दा पहिले भीड जुटाउने चिन्ता गर्नुपर्छ। यी सबै लोकाचारका व्यवहारिक रूप हुन्।
दुर्भाग्य यो हो कि यस्ता अभ्यासहरू परम्परा जोगाउने नाममा होइन, अरूको नजरमा राम्रो देखिन र सामाजिक आलोचनाबाट बच्नका लागि गरिन्छन्। यसको भारी अन्ततः व्यक्तिको विवेक, स्वतन्त्रता र आत्मसम्मानमाथि खस्छ, जहाँ मानिस आफूभन्दा समाजलाई खुसी पार्न बाध्य हुन्छ।
“समाजले के भन्ला?” – राजनीति, धर्म र लोकाचारको त्रिकोणमा थिचिएको व्यक्ति
नेपाली समाजमा “समाजले के भन्ला?” भन्ने प्रश्न केवल सामाजिक डर मात्र होइन; यो राजनीति र धर्मद्वारा पालित, लोकाचारद्वारा संस्थागत गरिएको मानसिक शासन प्रणाली हो। यो प्रश्नले नागरिकको हैसियत, विवेक र स्वतन्त्रताभन्दा माथि उभिएर निर्णय गर्छ, कसरी बाँच्ने, के बोल्ने, कसलाई पुज्ने र कसलाई भोट हाल्ने भन्ने सम्म।
धार्मिक सन्दर्भमा हेर्दा धर्म मूलतः आत्मचिन्तन र नैतिक उन्नतिको बाटो हुनुपर्ने हो। तर हाम्रो समाजमा धर्म चेतनाको विषय होइन, लोकलाजको औजार बनेको छ। व्रत, पूजा, जात्रा र संस्कार आत्मिक आवश्यकताका लागि होइन, समाजलाई देखाउन गरिन्छ। भगवानप्रति विश्वासभन्दा ठूलो कुरा छिमेकीको निगरानी बनेको छ। मानिस नपत्याएर पनि मन्दिर जान्छ, नमान्दै पनि दान गर्छ- किनकि नत्र समाजले ‘नास्तिक’ वा ‘धर्मभ्रष्ट’ ठहर गरिदिन्छ। यहाँ धर्मभन्दा धार्मिक देखिनु महत्वपूर्ण छ। आत्मा शुद्ध हुनुभन्दा धार्मिक प्रमाणपत्र बोकेर हिँड्नु सुरक्षित मानिन्छ।
राजनीतिक क्षेत्र त झनै “समाजले के भन्ला?” भन्ने भयको कारखाना हो। लोकतन्त्रमा नागरिक स्वतन्त्र सोचको आधारस्तम्भ हुनुपर्ने हो। तर व्यवहारमा राजनीति पार्टी आस्था होइन, सामाजिक पहिचान बनेको छ। कुन पार्टीको झण्डा बोकेको छ भन्ने कुराले मान्छेको नैतिकता, देशभक्ति र चरित्रसमेत नापिन्छ। आफ्नो विवेकले होइन, पार्टीको आदेशले सोच्नु ‘राजनीतिक सचेतना’ ठानिन्छ। गलत देखिए पनि पार्टीको निर्णयको समर्थन गर्नैपर्छ, किनकि फरक बोले समाजले ‘गद्दार’, ‘साम्प्रदायिक’ वा ‘दलाल’ ठहर गर्छ।
धर्म र राजनीति दुवैको साझा विशेषता के छ भने दुवैले प्रश्न गर्नेभन्दा मान्ने नागरिक चाहन्छन्। यहीँबाट “समाजले के भन्ला?” भन्ने डर व्यवस्थागत बन्छ। धार्मिक गुरु र राजनीतिक नेता दुवैले सामाजिक बहिष्कारको भय देखाएर मानिसलाई अनुशासित बनाउँछन्। प्रश्न गर्नु पाप ठानिन्छ, आलोचना देशद्रोह ठहरिन्छ। दार्शनिक कार्ल मार्क्सले धर्मलाई जनताको अफिम (“opium of the people”) भनेका थिए। हाम्रो सन्दर्भमा धर्म मात्र होइन, राजनीति पनि नशा बनेको छ जसले व्यक्ति सोच्न छोड्छ र भिडसँग लठ्ठिन्छ। यही नशामा मानिस आफ्नो गरिबीलाई नियति ठान्छ, भ्रष्टाचारलाई ‘माथिको आदेश’ भनेर स्वीकार्छ, र अन्यायलाई संस्कारको नाममा चुपचाप पचाउँछ।
विडम्बना के छ भने यही समाजले नैतिकताको ठेक्का लिएको जस्तो देखिए पनि व्यवहारमा दोहोरो चरित्र देखाउँछ। धर्मको नाममा नैतिकता सिकाउने समाज राजनीतिक भ्रष्टाचारमा मौन बस्छ। राजनीति बचाउने समाज धार्मिक कट्टरतामाथि ताली बजाउँछ। यहाँ पापकर्मभन्दा ठूलो पाप समाजसँग फरक देखिनु हो।
ओशोले भनेका छन्- सत्य खतरनाक हुन्छ। यसले धेरै झुटहरू नष्ट गर्छ। (Truth is dangerous. It destroys many lies.) त्यसैले सत्यभन्दा सुरक्षित छ-लोकप्रिय झूट। लोकप्रिय झूटलाई टिकाइराख्ने इन्धन हो-“समाजले के भन्ला?” भन्ने डर।
राजनीतिक स्वतन्त्रता, धार्मिक आस्था र सामाजिक मर्यादा तबसम्म अर्थहीन रहन्छन्, जबसम्म व्यक्तिले आफ्नै विवेकलाई सर्वोच्च स्थान दिँदैन। धर्म आत्मशुद्धिको साधन बन्नुपर्छ, राजनीतिको लक्ष्य सेवा हुनुपर्छ, र समाजको भूमिका सहयोगी। जब धर्मले प्रश्न सहन्छ, राजनीतिले आलोचना स्वीकार्छ, र समाजले फरकपनलाई अपराध ठान्न छोड्छ, त्यही दिन “समाजले के भन्ला?” भन्ने प्रश्न स्वतन्त्रताको बाधा होइन, संवादको सुरुवात बन्नेछ। नागरिक चेतनाको पुनर्जागरणबिना न धर्म पवित्र हुन्छ, न राजनीति लोकतान्त्रिक, न समाज मानवीय।
त्यसकारण अब “समाजले के भन्ला?” भन्ने प्रश्नको दासत्वबाट आफूलाई मुक्त गर्नै पर्दछ। अरूको दृष्टि, टिप्पणी र फुसफुसाहटको आधारमा होइन, आफ्नै विवेक, चेतना र हैसियतको आधारमा जीवन चलाउन सिक्नुपर्दछ। व्यक्ति स्वयं, समाज, प्रकृति र सम्पूर्ण मानवताका लागि तपाईंलाई जे ठीक, सत्य र न्यायोचित लाग्छ, त्यही गर्नु नै जीवनको सही मार्ग हो।
“समाजले के भन्छ?” भन्ने भ्रम र डरले होइन, आत्मसम्मान र आत्मविश्वासले निर्देशित भएर बाँच्न सक्नु नै वास्तविक स्वतन्त्रता हो। अरूलाई देखाउन होइन, आफ्नै मनसँग इमानदार भएर जिउनुहोस्। समाजको काल्पनिक अदालतबाट मुक्त भएर, निर्भीक र स्वतन्त्र जीवन जिऔँ।


