-ईश्वरी सिंह
जीवन जिउने सबैको आफ्नो अधिकार हुन्छ । पुरुष र महिला सबैले आफ्नै तरिका र शैलिमा जीवन जिउन चाहन्छन् । मानिस जन्मेपछि आफ्नै तरिकाले जिउन पाउनु पर्छ भन्ने मान्यता सबैमा हुन्छ । तर महिला र पुरुषमा भिन्नता किन हुन्छ ? किन बिभेद हुन्छ ? बिभेदको अन्त्य कसरी होला ?
यस्तै प्रश्नहरुको जवाफ धेरै खोजियो, तर सार्थक परिणाम आउने उपाय कसैले देखाउन सकेन ! आज यसै बिषयमा केही लेख्न मन लाग्यो । महिला र षुरुष दुबैले समाजमा भोग्नु पर्ने एकल जीवनको बाध्यता हो । तर पुरुषको एकल जीबन र महिलाको एकल जीबनबारे हामी बिश्लेषण गरेर अध्ययन गरौं त ! एकल शब्द सुन्ने बित्तिकै हामी सहजै बुझ्न सक्छौं एक्लो जीवन, अर्थात आर्थिक, मानसिक र सामाजिक रुपमा कसैको सहयोग बिना नै जिन्दगी अगाडि बढाउनु हो ।
यो विषयलाई भिन्न–भिन्न रुपमा विश्लेषण गरिएको छ । पहिलो–विवाह नगरि एक्लै जीवन बिताउनु, दोश्रो–श्रीमान वा श्रीमतीको मृत्यु पछि एक्लो जीवन बिताउनु, तेश्रो–विचार नमिल्दा पारपाचुके वा धोका पाएर जीवन विताउनुलाई एक्कल जीवनको रुपमा लिइन्छ ।
एक्कल महिला वा पुरुषलाई समाजले अपराधिको रुपमा लिने गरेको छ । तर व्यवहारिक रुपमा महिला र पुरुष बिचमा नै समाजको दृष्टिकोण फरक छ । सर्वप्रथम कुरा गरौं, विवाह नगरी बस्ने महिला वा पुरुषको, उमेर पुगेर पनि यदि विवाह गरिएको छैन भने, आफन्त र साथीभाइहरुले विवाह नगरि जिन्दगी जाने भयो, गोप्य कोहि राखेको होला भन्ने खालका टीका टिप्पणी गर्दै मानसिक तनाव दिन थाल्छन् । विवाह नगरेर ठूलो अपराध गरेछु कि क्या हो भनी सोच्न बाध्य बनाइन्छ । कसले कसरी जीवन बिताउने हो यो बारेमा दुनियाँको चाँसो हुनु आवश्यक त होइन नी ?
त्यस्तै विधवा र बिदुर महिला वा पुरुषको आफ्नै किसिमको पीडा हुन्छ पक्कै पनि । तर यी दुबैलाइ हेर्ने समाजको धारणा अलि फरक छ । महिला बिधवा भईन् भने उनको अनुहार विहान हेर्न हुँदैन, शुभकार्यमा जानु हुँदैन, रातो टीका–चुरा– पोते लगाउनु हुँदैन । यति मात्र होइन लोग्नेको ज्यान खाने आइमाई, कुलक्षिणि लगायतका नाम दिइन्छ । अर्थात उनी हिँड्ने बाटोमा काँडा नै काँडा हुन्छ । रङबिहिन भै मनका इच्छा, चाहना र सपना मारेर जिउँदो लास बनेर बाँच्न बाध्य बनाइन्छ । यदाकदा कसैले बिधवा महिलालाई अपनाइ हाल्यो भने पनि, हेर न कोहि केटी नपाएर फलानोको छोराले बिधवासंग बिहे गरेछ …!
यस्तै चर्चाहरु सुरु हुन्छन्, समाजले जिन्दगिभरी धब्बा लगाइदिन्छ । तर बिदुर पुरुष प्रति भने समाज निकै लचिलो भएको देखिन्छ । बिदुर पुरुषलाई चिन्ता नगर्नु जिन्दगी लामो छ । एउटा केटी खोजेर विवाह गर्नु पर्छ भन्दै घरबार भनसुन सुझाव दिन्छन् । अचम्म छ ! समाजको नीति र नियम, म सोध्न चाहान्छु–ती नीति निर्माण गर्नेहरुलाई प्रकृतिले शारीरिक बनावट फरक पार्दैमा इच्छा, चाहना र स्वभाव परिवर्तन गरेर किन जिउन बाध्य बनाइन्छ ?
मेरो एउटा साथीको विवाह भएको २ बर्षमै जीवनसाथीको निधन भयो, उनी बिधवा भइन् । उनलाइ श्रीमानको मृत्युको आरोप लाग्यो ।
घरमा ठाउँ थिएन अनि माइतिमा सम्मान पाइनन् । श्रीमान जसलाई उनले आफ्नो जिन्दगी समर्पण गरेकी थिइन् । उनकै मृत्युको आरोप लाग्दा त्यो महिलाको मन कसरी थाम्न सकेको होला ? आफन्तको हेला र कूदृष्टि समाजको नजरबाट बचेर बस्नु चानचुने कुरा होइन । सङ्गै समाएर हिँड्ने हात र सुखःदुखमा दिने साथ छुट्दा उनलाइ जति पीडा कसलाई भयो होला र ? त्यही ठाँउमा पुरुष भए उस्लाई कन्या केटी खोजी पन्चेबाजा बजाएर बिवाह गराइन्छ । उस्लाई न कुनै नियमले रोक्छ न त परिस्थितिले नै ।
अब कुरा गरौं, पारपाचुके महिला र पुरुषको । मान्छे मरेर बिधवा र बिदुर भएर त चित्त बुझाउन सकिन्छ । तर आफूले इमान्दार र साँचो प्रेम गर्दा गर्दै कतिपय अवस्थामा धोका पाएर वा विचार नमिल्दा अलग हुनेहरुको पीडा आफ्नै किसिमको छ । एकल महिला भन्ने बित्तिकै यस्तो लाग्छ कि सबैले प्रयोग गर्न पाउने वस्तु हो । फूलमा माहुरीको झूण्ड लागे जस्तै अघिपछि भिड लाग्न थाल्छन् । यी सब कुराहरुलाई नजरअन्दाज गर्दै जिन्दगी अगाडि बढाउँदा पनि कसैसङ्ग सम्बन्ध होला, यत्तिकै त के बस्थी होला भन्दै आरोप लगाउन पछि पर्दैनन् । घर छुटेको अनि माइतीमा ठाउँ नमिलेको अवस्थामा संसार नै अन्धकार देखिन्छ । एकचोटि मृत्युलाइ स्विकार गर्न सजिलो हुन्छ तर बारम्बार मर्दै उठ्दै गर्दाको पीडा सहनु धेरै कठिन हुन्छ महिलाको निम्ति, हामी सबैले समाजमा यस्तो धेरै देखेका छौं । तर यो अवस्थाको सुधार कसरी ? प्रश्न अनुत्तरित छ ।
महिला होस् वा पुरुष दुबैलाई एकार्काको साथ चाहिएको हुन्छ । प्रकृतिको नियम अनुसार एकाअर्काप्रति प्रेम आदान–प्रदान गर्ने इच्छा हुन्छ । यदि आफूजस्तै पारपाचुके पुरुषसङ्ग प्रेम भै हाल्यो भने पनि, प्रेमका वार्ता र यौन सम्बन्ध कायम गरुन्जेल, घुमफिर गरुन्जेल सम्म ठिकै हुन्छ । तर जब बिगतलाइ स्विकार गरेर वर्तमानमा खुशी दिँदै भविष्यलाई राम्रो बनाउने कुरामा परिवार र समाज बाधक बन्छ ।
पारपाचुके महिलाले पुनः विवाह गर्दा लाग्छ संसार नै उल्टियो । नीति नियम सबै भ्रष्ट भएर गयो । विवाहको फोटो फेसबुकमा पोस्ट भयो भने के गरेको होला यस्तो हेर ! भन्दै कुरा काट्न थाल्छन्, चर्चाले गज्जवको ठाउँ पाउन थाल्छ ।
त्यही ठाँउमा एउटा पुरुषले पुनः बिवाह गरेर फोटोहरु पोस्ट गर्दा बधाईको ओइरो लाग्छ । समाजका नीति निर्माताहरुले घरमा श्रीमती र श्रीमान हुँदाहुँदै ४–५ वटा प्रेमिका र प्रेमी डुलाउँदै हिँड्नु चाहिँ गर्वको कुरा हुने अनि एउटा सङ्ग जिन्दगी बिताउन चाहन्छु भन्दा महिला भएकैले गलत हुने किन ?
कस्तो बिडम्बना ! महिला र पुरुष बीच समाजले यस्तो भेदभाव किन गरेको होला ? एउटा पुरुष धेरैसङ्ग सम्बन्ध राख्दा पनि समाजमा उसको शरिर शुद्ध हुने, अनि यातना, धोका र बिचार नमिलेर महिला एकल हुनु पर्दा अशुद्धको बिल्ला भिरेर बाँच्नु पर्ने ! समाज परिवर्तन गर्छु भन्दै भाषण गर्नेहरुले बनाएको कानून,नीति र नियम स्वाभाविक हो त ?
समाजको नीति नियमले गर्दा कतिपय नारीहरु मृत्यु रोज्न बिवस हुन्छन, यस्को अन्त्य जरुरी छ ।-जनधारणा साप्ताहिक


