चितवन । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयभित्र विद्युत महसुल नबुझाउने उपभोक्ताविरुद्ध कडाई गरेको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म महसुल नतिर्ने २ सय ४९ जना उपभोक्ताको विद्युत लाइन काटिएको छ । प्राधिकरणले विद्युत सेवा सहज, नियमित र गुणस्तरीय राख्न उपभोक्ताको समयमै महसुल भुक्तानी अत्यावश्यक हुने उल्लेख गर्दै बाँकी बक्यौता भएका ग्राहकलाई तत्काल महसुल बुझाउन अन्तिम चेतावनी दिएको छ।
विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार उक्त अवधिसम्म उपभोक्ताबाट उठ्न बाँकी विद्युत महसुल ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ पुगेको छ। बढ्दो बक्यौता नियन्त्रण र सरकारी राजस्व संरक्षणलाई प्राथमिकतामा राख्दै प्राधिकरणले नियमित अनुगमन तथा कारबाही प्रक्रिया तीव्र बनाएको उनले बताए । प्राधिकरणका अनुसार बक्यौता रकममध्ये मंसिर मसान्तसम्म १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दी प्रणालीमार्फत असुल गरिएको छ। तर, अझै ठूलो रकम बाँकी रहेकाले महसुल नबुझाउने उपभोक्ताको पहिचान गर्दै लाइन काट्ने प्रक्रिया निरन्तर जारी रहेको जनाइएको छ।
वितरण केन्द्र प्रमुख शाहले समयमै महसुल बुझाउन उपभोक्तालाई पटक–पटक सूचित र अनुरोध गरिए पनि अटेर गर्ने प्रवृत्ति कायमै रहेकाले कडा कदम चाल्न बाध्य हुनुपरेको जनाए । उनले नियमित रूपमा महसुल बुझाएमा यस्तो कारबाहीको सामना गर्न नपर्ने स्पष्ट पार्दै सबै उपभोक्तालाई जिम्मेवार र सचेत बन्न आग्रह गरे ।


