एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीका हरेक निर्णयमा हावी हुँदै आएका छन् । उनले निर्णय गरेपछि अन्य नेताले विरोध पनि गर्न नसक्ने अवस्था एमालेमा छ । यदि कसैले विरोध गरिहालेमा स्पष्टीकरण र निलम्बनसम्मको कारबाही हुने गरेको छ । अर्कोतर्फ पार्टीमा ओलीलाई चुनौती दिने नेताहरुलाई उनले पाखा पनि लगाउँदै आएका छन् । विगतमा माधवकुमार नेपाल, भीम रावल जस्ता नेताहरु ओलीको यो प्रवृत्तिको शिकार भइसकेका छन् । यसले उनलाई विस्तारै पार्टीमा निरंकुशताको बाटोमा अघि बढाएको छ । त्यसको पछिल्लो उदाहरण हो, अध्यक्ष पदमा हालै आफूसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलको जिम्मेवारी ओलीले खोस्नु ।
मंगलबार च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो । अध्यक्ष ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । विष्णु रिमाल धेरै राम्रो मान्छे भएको, तर चुनाव हारेको भन्दै उनलाई जिम्मेवारी दिनुपर्ने ओलीको प्रस्ताव थियो । एघारौं महाधिवेशनमा रिमाल उपमहासचिव पदका उम्मेदवार थिए । तर केन्द्रीय सदस्यमा समेत पराजित भए । केन्द्रीय सदस्यमै पराजित भएपछि रिमाललाई ईश्वर पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी दिइएको हो ।
अध्यक्षमा भिँडेका पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा केही पदाधिकारीले असहमति जनाएका थिए । भर्खरै महाधिवेशन सकिएको र चुनाव नजिकै आइरहेको बेलामा पार्टीलाई एकताबद्ध बनाउन पनि पोखरेललाई जिम्मेवारीबाट हटाउनु नहुने केही नेताको भनाइ थियो । तर ओली आफ्नो प्रस्तावमा टसमस भएनन् । त्यति मात्र होइन, निर्वाचनमा परिचालन कमिटीको संयोजक पनि ओलीले आफूनिकट उपाध्यक्ष रामबहादुर थापालाई तोकेका छन् । कमिटीमा एमाले संस्थापनकै छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी सदस्य छन् ।
यस्तै निर्वाचन अभियान सञ्चालनका लागि बैठकले प्रदेश इन्चार्ज पनि तोकेको छ । कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा सचिव महेश बस्नेत, राजधानीमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई इन्चार्ज तोकिएको छ । बैठकले संगठन विभागको इन्चार्जको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिएको छ । यी सबै नेताहरु ओली पक्षका हुन् । पछिल्लो महाधिवेशनमा ओली पक्षबाट बाहिर रहेर चुनाव लडेका कुनै पनि नेताले जिम्मेवारी पाएका छैनन् ।
विगतमा पनि पार्टीमा एकलौटी निर्णय गर्दै आएका ओलीले फेरि त्यही प्रवृत्तिलाई निरन्तरता दिएका हुन् । यसले पार्टी एक व्यक्तिमा आश्रित वा निरंकुशताको बाटोमा गएको स्पष्ट हुन्छ । यसले पार्टीभित्रै आन्तरिक एकता खल्बल्याउनेदेखि सधैंभरि पार्टीमा द्वन्द्व रहने समस्या हुन्छ । एउटा नेतृत्वले केवल आफ्नो पक्षलाई मात्र काखी च्याप्ने होइन, पार्टीका सबै नेताले साँच्चीकै नेता मान्ने गरी नेतृत्व गर्नुपर्छ । अनि मात्र त्यो व्यक्ति नेतृत्व भन्नलायक हुन्छ । एमाले अध्यक्ष ओलीले यसलाई मनन गर्न जरुरी छ । जनधारणा साप्ताहिक


