एजेन्सी । अष्ट्रेलियन ए–लिग महिला फुटबलमा वेलिंग्टन फिनिक्स एफसीकी नेपाली स्टार स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ सिजनको अन्त्यतिर गम्भीर चोटका कारण लामो समय मैदान बाहिरिने भएकी छन् ।
एमआरआई स्क्यान रिपोर्ट अनुसार साम्बाको दाहिने घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट पूर्ण रूपमा फुटेको छ । यस चोटका कारण उनी ९ देखि १२ महिनासम्म प्रतिस्पर्धात्मक फुटबलबाट टाढा रहनुपर्नेछ । चोट ब्रिस्बेन रोअर विरुद्ध राउन्ड ११ को खेलको दोस्रो हाफमा लागेको थियो । हावामा बलको लागि प्रतिस्पर्धा गर्ने क्रममा रोअरकी गोलकिपर क्लो लिंकनसँगको सम्पर्कमा साम्बाको दाहिने खुट्टा अस्वाभाविक रूपमा मोडिएको थियो ।
क्लबका अनुसार यो सम्पर्क तेस्रो पटकको थियो र बलको उच्च स्तरको प्रतिस्पर्धाका कारण यो चोटलाई पूर्ण रूपमा रोक्न सकिने अवस्था थिएन । साम्बाले यो सिजन वेलिंग्टन फिनिक्स एफसीका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन् । उनको अनुपस्थितिले टोलीको आक्रमणलाइनमा ठूलो असर पर्ने देखिएको छ । क्लबले साम्बालाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, “साम्बालाई उनको योगदानका लागि धेरै धेरै धन्यवाद ।
समस्यामुक्त र छिटो स्वास्थ्यलाभको हार्दिक शुभकामना ।” नेपाली फुटबल समर्थकहरूले पनि सामाजिक सञ्जालमार्फत साम्बालाई स्वास्थ्यलाभको शुभकामना दिइरहेका छन् । साम्बा यसअघि पनि दुवै घुँडामा एसीएल चोटबाट गुज्रिसकेकी खेलाडी हुन् । यो उनको तेस्रो ठूलो एसीएल चोट हो ।


