काठमाडौं । विभिन्न सरकारी तथा गैरसरकारी निकायका सूचना प्रणालीमा अनधिकृत रूपमा पहुँच गरी वेबसाइट ह्याकिङ तथा डाटा चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोले जारी गरेको विज्ञप्तिअनुसार विगत केही महिनादेखि सरकारी कार्यालयका वेबसाइट तथा सूचना प्रणालीमा अनधिकृत पहुँच (Website Hacking and Data Breach) का घटनाहरू निरन्तर देखिँदै आएका थिए। ती घटनाको जिम्मा ‘CMD Nepal’, ‘Nepali for Nepal (NFN)’ लगायत समूहले लिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रचारसमेत गरिएको थियो।
घटनाबारे नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, निर्वाचन आयोग, नेपालबाट प्राप्त निवेदन र साइबर ब्यूरोको विशेष प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा दुई जनाको संलग्नता खुल्न आएको प्रहरीले जनाएको छ।


