काठमाडौं । अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेका छन्।
उनले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई भेनेजुएलाको तेल र खनिज स्रोतहरूमा कब्जा जमाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।
राष्ट्रपति मादुरोले देशभरमा बाह्य अस्थिरताको अवस्था घोषणा गर्ने आदेशमा हस्ताक्षर गरी त्यसलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन्। साथै, उनले सबै राष्ट्रिय रक्षा योजनाहरूलाई उचित समय र उपयुक्त परिस्थितिमा लागू गर्न आदेश दिएका छन्।
सरकारले देशका सबै सामाजिक तथा राजनीतिक शक्तिहरूलाई परिचालन योजना सक्रिय गर्न र साम्राज्यवादी आक्रमणको निन्दा गर्न आह्वान गरेको छ।
भेनेजुएलाको राजधानी कराकसलगायत विभिन्न स्थानमा अमेरिकाले सैन्य हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि अमेरिकाले भेनेजुएलाका सैन्य बेसलगायत विभिन्न स्थानमा हमला गरेको बिबिसीले जनाएको छ।
यो आक्रमण ट्रम्प प्रशासनले पछिल्ला केही हप्तादेखि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि बढाउँदै आएको दबाबको पृष्ठभूमिमा भएको हो।
अमेरिकी राष्ट्रपति ट्रम्पले मादुरोमाथि अमेरिकाभित्र लागुऔषधको तस्करी र आपराधिक गतिविधि फैलाउन संलग्न रहेको आरोप लगाउँदै आएका छन्।


