काठमाडाैं । निर्वाचन आयोगले यही फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ ।
काठमाडौंका १, ३, ६, ७ र ८ का उम्मेदवारले २५ लाख मात्र खर्च गर्न पाउने भएका हुन् । १७ वटा निर्वाचन क्षेत्रमा २७ लाखको सीमा तोकिएको छ । २७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १० छन् । पर्सा १, २, ३ ललितपुर १, २, ३ तथा भक्तपुर २ र कास्की २ का उम्मेदवारले २७ लाख खर्च गर्न पाउने छन् ।
आयोगले केही दिनमै सूचना जारी गरेर उम्मेदवारले गर्न पाउने खर्चको विवरण सार्वजनिक गर्न लागेको हो । आयोगका अनुसार ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने छन् । त्यस्तैगरी, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् ।
३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ छन् । यी निर्वाचन क्षेत्रमा केपी शर्मा ओली र शेरबहादुर देउवा उम्मेदवार रहँदै आएका छन् ।
३३ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २, मकवानपुर १ र २ छन् ।
गोरखा १, लमजुङ १, अर्घाखाँची १, रोल्पा १, प्युठान १, दाङ १, बर्दियाका १ र २ सल्यान १ का उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् ।
हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले पनि ३३ लाख खर्च गर्न पाउनेछन् ।
आयोगले उम्मेदवारका लागि निर्वाचन आचारसंहिता तोकिसकेको छ । उम्मेदवारले भड्किलो प्रचार गर्न पाउने छैनन् ।
फागुन २१ मा निर्वाचन हुने नहुने अनिश्चित रहेको समयमा प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् ।


