काठमाडौं । रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको दल नागरिक उन्मुक्ति पार्टी नेपालमा समाहित हुने भएको छ ।
नागरिक उन्मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले नागरिक उन्मुक्ति पार्टी आफूहरूको दलमा समाहित हुने सहमति भएको जनाए । उनका अनुसार , “नागरिक उन्मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबीच एकता हुने भएको हो ।
नागरिक उन्मुक्तिका सबै नेता–कार्यकर्ता नागरिक उन्मुक्ति पार्टी नेपालमा आउँदै हुनुहुन्छ ।” नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिताले आफूलाई जानकारी नै नगराई केन्द्रीय कार्यसमिति बैठक डाकेको भन्दै संरक्षक रहेका रेशमलाल चौधरीले गएको भदौ २९ गते नयाँ पार्टी घोषणा गरेका थिए । उनले श्रीमती समेत रहेकी रञ्जितासँग सबैखाले सम्बन्ध टुंगिएको बताएका थिए ।रेशमलाल हाल नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक छन् ।
शनिबार (पुस १२) दिउँसो १ बजे काठमाडौंमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता हुने खानले जानकारी दिए ।

