काठमाडौं । गाजा शान्ति योजनालाई कार्यान्वयन गर्न प्रस्तावित ‘अन्तर्राष्ट्रिय स्थिरिकरण बल’ (आईएसएफ) मा जर्मनी सहभागी नहुने भएको छ । जर्मन विदेशमन्त्री योहान वाडेफुलले निकट भविष्यमा यस्तो कुनै योजना नभएको बताए ।
आईएसएफको गठन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० सूत्रीय शान्ति योजनाको दोस्रो चरणको हिस्सा हो । यसै चरणमा हामासले हतियार समर्पण गर्ने सर्त पनि छ ।
वाडेफुलले जर्मन समाचार एजेन्सी डीपीएलाई जर्मनीका सैनिकहरू ठोस सुरक्षाको व्यवस्था गर्न आवश्यक बलको हिस्सा नहुने बताए । वाडेफुलले शान्ति योजनाको दोस्रो चरणलाई चाँडै सुरु गर्न पनि अपिल गरे ।
उनले भने, “हामीले गाजाको वर्तमान विभाजनलाई स्थायी बन्न दिनुहुँदैन, जसमा एउटा हिस्सा इजरायली सेनाको नियन्त्रणमा छ र अर्को हिस्सा हामासको नियन्त्रणमा छ ।”
यद्यपि, शान्ति योजनाको कार्यान्वयनमा कठिनाइहरूलाई स्वीकार्दै उनले धैर्य राख्न पनि अपिल गरे । उनले भने, “चाहे यो भोलि नैपूरा होस्, तैपनि हामीले आफूलाई यो लामो प्रक्रिया नै रहनेछ भनेर यसका लागि तयार गर्नुपर्छ ।”
वाडेफुलले हामास राजनीतिक र सैन्य रूपमा सक्रिय भएको र सम्भवतः आफ्नो शक्ति फेरि प्राप्त पनि गरिरहेको जनाए । “अहिलेसम्म, हामी गाजा पट्टीमा पुनर्निर्माण प्रक्रिया सुरु गर्न सक्षम हुनबाट धेरै टाढा छौं,” उनले जनाए ।
वाडेफुलले जर्मनी पुनर्निर्माणमा साथ दिने भए पनि उनले धनी खाडी देशहरूसँग तिनीहरूले वित्तीय स्रोतहरू उपलब्ध गराउन सहयोग गर्न पनि अपिल गर्नु भएकाे छ ।


