काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरु र जेन–जी युवा पुस्ताका मागहरु सम्बोधन नभए अगामी २१ फागुनमा निर्वाचन हुन नदिने चेतावनी दिएका छन्।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अभियानले अघि सार्दै आएका मागहरु पूरा गर्न सरकारलाई यही पुस १० गतेसम्मको अल्टिमेटमसमेत दिए।
उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूलाई वार्ताको नाममा जिस्क्याउने काम नगर्नसमेत आग्रह गरे। उनले आफूहरुको अभियानलाई ६० भन्दा बढी राजनीतिक दल र जेन–जी पुस्ताको समेत समर्थन रहेको पनि बताए।
उनले भने, ‘हाम्रा र जेन–जीका मागहरु पूरा हुन्छन् भने यो देशमा फेरि चुनाव हुन्छ। नभए चुनाव किन चाहियो? फेरि तिनै मान्छेलाई ल्याउनलाई? त्यसकारण फागुन २१ गते चुनाव हुँदैन। त्यसको लागि तयारी गर्नु बेकार हो। हामीले सरकारलाई १० गतेसम्मको समय दिएका छौँ। यदि योबीचमा हामीलाई बोलाएर माग पूरा गर्न तत्पर भएन भने निर्वाचन हुन दिँदैनौँ।’


