काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने भएका छन् ।
रास्वपाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति लामिछाने तत्कालै आफ्नो पदीय जिम्मेवारीमा फर्कन लागेको जानकारी दिएको हो ।
रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अदालतको आदेशप्रति सम्मान व्यक्त गरिएको छ । ‘विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सभापतिज्यूमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको र अहिलेको नागरिक सरकारले यसलाई पूर्णविराम लगाउनेमा पार्टीले विश्वास लिएको छ ।’
रास्वपाले लामिछानेविरुद्धका मुद्दाहरूलाई ‘झुटा’ र तत्कालीन सरकारको राजनीतिक प्रतिशोधको परिणाम भएको दाबीसमेत गरेको छ । सभापति पक्राउ परेपछि सिर्जित परिस्थितिमा साथ दिने देश-विदेशमा रहेका समर्थक, शुभेच्छुक र न्यायप्रेमी नेपालीहरूप्रति पार्टीले आभार प्रकट गरेको छ ।


