–निमकान्त पाण्डे
नेपालमा लामो समयदेखि संसद् र सत्तामा देखिएका दुई प्रमुख वामपन्थी दल हुन्, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी । नेपाली कम्युनिस्ट पार्टी अर्थात् नेकपाका संयोजक छन् पुष्पकमल दाहाल ‘प्रचण्ड’ । यो पार्टी हालै माओवादी, एकीकृत समाजवादी लगायत वामपन्थी दल मिलेर बनेको हो । त्यही कारण नयाँ दल भए नि यसका अधिकांश नेता संसद् र सत्ताका नै खेलाडी हुन् । केपी शर्मा ओली नेतृत्वको एमाले त झन् संसद् र सत्ताको प्रमुख हिस्सेदारको रुपमा सक्रिय नै छ । त्यसकारण नेपालको राजनीतिमा वामपन्थी र वामपन्थको चर्चा गर्दा यी दुई दल र यिनका नेताहरुको पेरिफेरि उपयुक्त हुनसक्छ ।
वामपन्थ के हो ? विश्वको एक प्रमुख राजनीतिक विचारधारा वामपन्थले समानता, न्याय र प्रगतिशील परिवर्तनलाई जोड दिन्छ । आधुनिक रूपमा, वामपन्थले आर्थिक असमानता घटाउने, सार्वजनिक सेवाहरूको विस्तार र सामाजिक न्यायलाई प्राथमिकता दिन्छ । यो समाजवाद, कम्युनिज्म, सामाजिक लोकतन्त्र जस्ता विचारधाराहरूसँग जोडिएको छ । वामपन्थीहरूले पूँजीवादको आलोचना गर्दै सरकारको भूमिकालाई बढाउनुपर्ने विश्वास गर्छन्, जसले गर्दा धनी र गरीबबीचको खाडल कम होस् ।
वामपन्थको मुख्य सिद्धान्तहरूमा समानता पहिलो स्थानमा आउँछ । यसले जाति, लिंग, वर्ग र अन्य आधारमा हुने विभेदको विरोध गर्छ । उदाहरणका लागि, वामपन्थीहरूले सार्वजनिक स्वास्थ्य सेवा, शिक्षा र आवासलाई सबैको अधिकार मान्छन् । उनीहरू पर्यावरण संरक्षण, कामदार अधिकार र अल्पसंख्यकहरूको सुरक्षा जस्ता मुद्दामा सक्रिय हुन्छन् । यस विचारधाराले अन्तर्राष्ट्रियता र शान्तिलाई पनि जोड दिन्छ, जसमा युद्ध र साम्राज्यवादको विरोध समावेश छ । वामपन्थीहरूले प्रगतिशील कर प्रणालीको पक्ष लिन्छन्, जसले धनीहरूबाट बढी कर लिई गरीबहरूलाई सहयोग गर्छ । यो दृष्टिकोणले समाजलाई समतामूलक बनाउने लक्ष्य राख्छ, जसमा निजी सम्पत्तिको सट्टा सार्वजनिक स्वामित्वलाई प्राथमिकता दिइन्छ ।
अब वामपन्थीहरूका विशेषताबारे कुरा गरौं । वामपन्थीहरू सामान्यतया परिवर्तनकारी हुन्छन् । उनीहरू परम्परागत मूल्यहरूभन्दा प्रगतिशील विचारहरूलाई महत्व दिन्छन् । उनीहरू सामाजिक न्यायका लागि संघर्ष गर्छन् र पूँजीवादी प्रणालीलाई असमानताको स्रोत ठान्छन् । वामपन्थी समानता र न्यायको पक्षधर हुन्छन्, जसले समाजलाई परिवर्तन गर्न खोज्छ । वामपन्थीहरू प्रगतिशील, संघर्षशील र सामाजिकतावादी हुन्छन्, जसले असमानताको अन्त्य चाहन्छन् ।
के नेपालका वामपन्थी नेताहरु यस्तै चरित्रका छन् त ? निश्चय नै अधिकांश नेता छैनन् । त्यसविपरीत बुद्धिजीवी इडुवार्ड बन्र्सटिनले भनेजस्तै संसदीय निर्वाचनबाट पनि समाजवादको निर्माण गर्न सकिन्छ भनेर वामपन्थी पार्टीबाट अवसर लिई देश र जनतालाई धोका दिने प्रवृत्ति नेताहरुमा देखिएको छ । आफूलाई वामपन्थी नेता भन्नेहरु सत्ता र शक्तिको आडमा नवसामन्तवादीका रुपमा उदाएका छन् । जुन वामपन्थ र त्यसलाई अवलम्बन गरेका भनिएका वामपन्थी नेताबीच देखिएको ठूलो विरोधाभाष हो ।
एमालेकै चर्चा गर्दा, ११औं महाधिवेशनको क्रममा आन्तरिक लोकतन्त्र कमजोर भएको, प्रतिस्पर्धालाई प्राथमिकता दिने जनताको बहुदलीय जनवादलाई बेवास्ता गरिएको र पार्टीमा एक नेताको निरंकुशता बढेको आरोप लाग्यो । एमालेका नेताहरुको जीनवशैली, कार्यशैली र सत्तामा रहँदाका निर्णयहरु अलोकप्रिय हुँदा नै जेनजी आन्दोलनका क्रममा एमाले र यसका नेताहरु प्रमुख निशानामा परे । तर, संसद्बाटै समाजवादको बाटो भन्ने अवसरवादी नेताहरु एमालेको केन्द्रमा अझै छन् ।
एमालेकै जस्तो बाटोमा छन् तत्कालीन माओवादी नेताहरु, जो अहिले नेकपामा छन् । शान्ति प्रक्रिया मूलधारको राजनीतिमा आएको माओवादी त्यसयता पटकपटक सरकारमा सहभागी भयो । तर, उत्तिकै मात्रामा पार्टीमा टुटफुट भयो । जनताले पहिलो संविधानसभाको निर्वाचनताका माओवादीले विशाल मत दिएर पहिलो पार्टी बनाएका थिए । तर, त्यसलाई उपयोग गर्न भने माओवादीले सकेन । माओवादीका केही नेता नै भ्रष्टाचार, अनियमितामा संलग्न हुँदा, पुँजीवादी दलाल व्यवस्थालाई पक्षपोषण र बिचौलियासँग घाँटी जोड्दा उनीहरुले जनताको मात्र होइन, आफ्नै साथीको पनि साथ गुमाए । फलस्वरुप पहिलो पार्टीबाट घट्दै माओवादी अहिले आफ्नै अस्तित्व रक्षाको संघारमा छ र विभिन्न पार्टीसँग एकता गरेर भए अस्तित्व बचाउन प्रयासरत छ ।
अहिले वामपन्थी दलहरुको सिद्धान्त एकातिर, नेताहरुको गतिविधि अर्कोतिर छ । त्यसो हुन्जेलसम्म नेपालमा कुनै पनि वामपन्थी दल सफल हुन सक्दैनन् । पार्टी भनेकै नेता तथा कार्यकर्ता हुन् । उनीहरुको जीवनशैली, निर्णय, व्यवहारले नै पार्टीको सफलता असफलता मापन हुन्छ । इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने प्रयास वामपन्थी नेताहरुले गर्न आवश्यक छ । यसले नेपाली कम्युनिस्ट पाटीहरुको भविष्य पनि निर्धारण गर्नेछ । आगामी निर्वाचनमा कम्युनिस्ट पुराना दलहरुको भविष्य संकटमा परेको छ । विगतमा कम्युनिस्ट वाम गठबन्धनलाई जनताले दुई तिहाइ हाराहारीमा मत दिएका थिए । तर, त्यो जनमतलाई सदुपयोग गर्न नसक्दा कम्युनिस्ट दलहरु ओरालो लागेका छन् । त्यसकारण एकताबद्ध भएर जनताको हितमा काम गर्न खोजे कम्युनिस्ट पार्टीलाई जनताले पनि अनुमोदन गर्नेछन् । जनधारणा साप्ताहिक


