काठमाडौं / कांग्रेसले एकसाथ महाधिवेशनका साथै चुनावको पनि तयारी थालेको छ । पुसमा महाधिवेशन गर्ने तय गरेको कांग्रेसले फागुन २१ को निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रबाटै उम्मेदवार सिफारिस थालेको छ । तर, उम्मेदवार सिफारिसको क्रममा कतै धाँधली भएको गुनासो आएको छ भने कतै उम्मेदवार बन्न नै अनिच्छा देखाएको अवस्था छ ।
जेनजी आन्दोलनले पार्टीमा पुस्तान्तरणको माग गरे पनि कांग्रेसको उम्मेदवार सिफारिसमा त्यसको झलक देख्न सकिएको छैन । अहिले उम्मेदवार सिफारिस भएकाहरु २०४८ सालदेखि नै चुनावी प्रतिस्पर्धा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नै आठौंपटक डडेलधुराबाट उम्मेदवारमा एकल सिफारिस भएका छन् । ८० वर्षीय देउवाले चुनाव लड्ने तय हुँदै गर्दा ७० वर्ष हाराहारीका राजन केसी र रामनाथ अधिकारीले भने अब चुनावमा युवालाई अघि बढाउने भन्दै आफूहरुले चुनाव नलड्ने घोषणा गरेका छन् ।
कांग्रेसले मंसिर १५ देखि आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि उम्मेदवार टुंगो लगाउन आकांक्षीहरूको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो । केन्द्रीय कार्यसमितिले मापदण्ड तोकेर परिपत्र गरेपछि एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला कार्यसमिति र दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका क्षेत्रीय कार्यसमितिहरूले माथिल्लो तहमा धमाधम आकांक्षीको नाम सिफारिस गरिरहेका छन् । जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिहरू नाम सिफारिस गर्दा कोही आकांक्षीहरूको नाम एकल सिफारिस गरिरहेका छन् भने कसैले केन्द्रले निर्धारण गरेको मापदण्डभन्दा बढी आकांक्षीहरूको नाम माथिल्लो तहमा पठाइरहेका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट, नेता शेखर कोइराला मोरङ–६ बाट र महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट एकल सिफारिस भएका छन् । त्यस्तै महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाहेक धनकुटा, तेह्रथुम, सर्लाही र रोल्पाबाट सिफारिस भएका छन् । यद्यपि संविधानले भने दुई ठाउँमा बाहेक चुनावमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरेको छ । त्यसविपरीत थापालाई आधा दर्जन जिल्लाबाट उम्मेदवारमा सिफारिस गरिएको हो । पूर्वपरराष्ट्रमन्त्री आरजु राणा कैलाली–५ बाट निर्वाचन लड्दै आएकी छन् । उनलाई कैलाली–५ सँगै बर्दिया–२ बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
कतिपय जिल्लाहरूमा मापदण्डविपरीत प्रदेशसभा सदस्यलाई समेत प्रतिनिधिसभातर्फ सिफारिस गरिएको, संस्थापन पक्षको एकलौटी निर्णय र विवादास्पद व्यक्तिको नाम समावेश भएको गुनासो कांग्रेस नेताहरूले नै गर्न थालेका छन् । सर्लाही–४ मा प्रदेश सांसद रहेका वीरेन्द्रप्रसाद सिंहको नाम सिफारिस भएपछि त्यहाँ विवाद भएको छ । सिंह र महामन्त्री गगन थापाको नाम क्षेत्रीय समितिले सिफारिस गरेको हो । केन्द्रको मापदण्डविपरीत बागमती प्रदेशका सांसद कुन्दन काफ्ले दोलखाबाट र हुम्लाबाट जीवनबहादुर शाहीलगायत सिफारिस भएका छन् । कांग्रेसले प्रदेश सांसद रहेकालाई सिफारिस गर्न नपाइने भनेर सबै निर्वाचन क्षेत्रीय समितिमा सर्कुलर गरेको थियो ।
सर्लाही–४ को सिफारिस पनि केन्द्रको मापदण्डविपरित भएको भन्दै महासमिति सदस्य राजेश्वर सिंह कुशवाहले आफ्नो नामसमेत समावेश गरिदिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । रूपन्देही–५ मा संस्थापन पक्षले एकलौटी र जबर्जस्ती सिफारिस गरेको भन्दै इतरपक्षले विरोध गरेको छ । उक्त क्षेत्रबाट भरत शाहको नाम एकल सिफारिस गरिएको छ । त्यसको विरोध गर्दै इतरपक्षले पनि छुट्टै सिफारिस गरेको छ । काठमाडौंमा अकुत सम्पत्ति र भ्रष्टाचार आरोपमा मुद्दा खेपेका तत्कालीन सांसद सन्तोष चालिसेको एकल सिफारिसलाई लिएर संस्थापन इतरपक्षबाट चर्को विरोध भएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पासमेत उक्त क्षेत्रबाट सिफारिस हुन चाहेका थिछ । तर, शेर्पालाई आउनै नदिई क्षेत्रीय समितिले जबर्जस्ती चालिसेको नाम मात्रै केन्द्रमा पठाएको भन्दै कार्यालयमा तालाबन्दी गरिएको छ ।
पार्टीका विभिन्न जिल्ला र क्षेत्रीय समितिबाट केन्द्रमा पठाइएका सिफारिस सूचीमा मापदण्ड उल्लंघन प्रशस्त देखिएका छन् । कतिपय जिल्लामा विवादका कारण सिफारिस हुन सकेको छैन । पार्टीले यस पटक कम्तीमा ३० प्रतिशत नयाँ तथा युवा उम्मेदवारलाई प्राथमिकता दिने नीति अंगीकार गरेको दाबी गरे पनि सिफारिस सूचीमा पुरानै अनुहारको बाहुल्य छ । पार्टीले नयाँ पुस्ता र समावेशी प्रतिनिधित्वको वकालत गर्दै आए पनि उम्मेदवार चयनमा गुटबन्दी र पुरानो नेतृत्वको प्रभाव देखिएको छ, युवा तथा महिला पछि परेका छन् ।
कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने तय गरेको छ । महाधिवेशन निर्धारित समयमै होला कि नहोला भन्ने प्रश्न एकातिर छ भने अब कांग्रेसको नेतृत्वमा को आउँछ भन्ने जिज्ञासा पनि छ । केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण मंसिर २० गतेदेखि थालेको कांग्रेले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि मंसिर २४ गते तोकेको थियो ।
यस्तै, एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने अवधि पुस ८ गतेभित्र तोकिएको छ । एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि पुस १० गतेभित्र निर्धारण गरिएको छ ।
दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि पुस ११ भित्र र नयाँ क्रियाशील सदस्यताउपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर केन्द्रमा पठाउने पुस १२ गतेभित्र तोकिएको छ । क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति÷कार्यवाहक सभापतिलाई बुझाउने अवधि पुस १४ गते, क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि पुस १४ गतेभित्र, नेपाली जनसम्पर्क समितिको अधिवेशन पुस १५ गते गर्ने तय भएको छ ।
गाउँ÷नगर वडा अधिवेशन पुस १६ मा, गाउँ÷नगरपालिका अधिवेशन पुस १७ मा, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधि सभा निर्वाच क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ मा, दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ मा, प्रदेश अधिवेशन पुस २३ र २४ मा केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ मा गर्ने तय भएको छ । जनधारणा साप्ताहिक


