काठमाडौं । लामो समयदेखि विविध कारणले सुनुवाई हुन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छबिलाल जोशीको मुद्दामा आज सुनुवाई भईरहेको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा उनीहरुको मुद्दाको सुनुवाई भईरहेको हो ।
लामिछाने र जोशी दुबैजनाले बिगो बमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । बुटवलको सुप्रिम सहकारीको रकम अनियमितता प्रकरणमा रविसहितका प्रतिवादीलाई रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको थियो ।
आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बिगो बराबरको रु दुई करोड ७४ लाख ८४ हजारको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।


