काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको जनाएका छन्।
बुधबार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा उनले सरकारले निजी क्षेत्रको मनोबल उकास्न र लगानीका लागि सकारात्मक वातावरण बनाउन खोजिरहेको जनाए।
उनले जेन–जी आन्दोलनका क्रममा गरिएको संगठित अपराधलाई छुट नदिइनेसमेत प्रतिबद्धता जनाए। उनले सरकार र जेन–जीबीचको सम्झौतामा त्यस्तो अपराधलाई छुट दिने कुरा कहीँ उल्लेख नभएको जनाए।
मन्त्री सिन्हाले वर्तमान सरकारको मुख्य दायित्व निर्वाचन गर्ने भए पनि सरकारका आधारभूत जिम्मेवारी सुशासन, सेवा प्रवाहमा सुधार, शान्ति सुरक्षा, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, सहज औद्योगिक वातावरण निर्माण, सरकार क्षेत्रको स्वतन्त्रता पनि सरकारको प्रमुख प्राथमिकता रहेकोसमेत जनाए।
जेन–जीले उठाएका मागहरुलाई सरकारले गम्भीर रुपमा हेरेको समेत उनको धारणा थियो।
उनले अख्तियारलाई देखाएर काम नगर्ने प्रवृत्ति कर्मचारीतन्त्रमा व्याप्त देखिएको समेत बताए। उनका अनुसार सही काम गर्नेहरु डराउनपर्ने स्थिति छैन। मन्त्री सिन्हाले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आह्वान गर्दै सुरक्षाको प्रत्याभूति दिन सरकार तयार रहेकोसमेत जनाए।


