पाल्पा । विश्व बैङ्कको सहयोगमा स्तरोन्नति सुरु भएको पाल्पाको डुम्रे गुफा चौर होलाङ्दी सडक निर्माणमा ढिलाइ भएको छ । तानसेन नगरपालिकाको नगर गौरवको योजनाका रहेको यस सडकमा निर्माण व्यवसायीले गुणस्तरीय काम नगर्दा ढलान चर्किने, भासिने र भूक्षय लगायतको समस्या देखिएको स्थानीयको गुनासो छ । काम समयमा नसकिएपछि तेस्रो पटक म्याद थप्ने तयारी भएको छ ।
तानसेन नगरपालिकामार्फत ठेक्का भएको यो सडकको अझै ४० प्रतिशत काम बाँकी रहेको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गको माथिल्लो डुम्रेदेखि तानसेन नगरपालिका–१०, तेल्घाको गुफा चौर हुँदै होलाङ्दी जोड्ने गरी यो सडक निर्माणको १७ जुन २०२५ मा काम सक्नुपर्ने थियो ।
दोस्रो पटक थपिएको म्याद २० अक्टोबर २०२५ अर्थात् ४ मङ्सिर २०८२ मा सकिएको तर निर्माण व्यवसायीले कतिपय स्थानमा कालोपत्रे, ढलान र पर्खालको काम बाँकी छ ।
सडक स्तरोन्नतिका लागि निर्माण कम्पनी वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालिबीच ४५ करोड ७६ लाख ८३ हजारमा १३ महिनामा सक्ने गरी सम्झौता भएको थियो ।
तानसेन नगरपालिका–८, माथिल्लो डुम्रेदेखि तानसेन–१०, गुफा चौर हुँदै तानसेन–३, होलाङ्दीसम्म जोडिएको छ ।


