काठमाडौं । कुनै समय एमालेमा युवाहरूको पार्टी थियो । तात्कालीन मदन भण्डारी महासचिव चुनिँदै बेलामा ४० वर्षका मात्र थिए । अहिले भने ६० वर्षमाथिका पदाधिकारी उम्मेदवारको संख्या ६० प्रतिशतभन्दा माथि देखिएको छ । पार्टीले ५ प्रतिशत युवा कोटा राख्ने निर्णय पारित गरे पनि युवाहरु नेतृत्वमा आउन अझै पनि छुटेका छन् ।
यसैका बीचमा एमालेमा ४१ वर्षीया रचना खड्काले सचिव पदमा उम्मेदवारी हालेकी छन् । बागमतीकी पूर्वअर्थमन्त्री रचना एमालेको केन्द्रीय सदस्यमा पहिलो चोटि चुनिँदा २८ वर्षकी थिइन् । रामेछापबाट सांसद चुनिएकी रचना बागमती प्रदेश सभा सदस्य, बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनिन् । पार्टी तथा सरकार दुवैतर्फबाट नेतृत्वमा अघि बढ्दै गरेकी रचनाले आफू कान्छो उमेरको पदाधिकारी उम्मेदवार बन्ने संयोगलाई पार्टी नेतृत्व र जनताबीच टाढिँदो सम्बन्ध नजिक्याउने अवसरका रुपमा हेरेकी छन् । ‘आम नागरिक, खासगरी युवाहरुको भावनालाई आत्मसात् गर्दै पार्टीसँग बढेको दूरीलाई अब मेट्ने हाम्रो योजना हुन्छ,’ खड्काले भनिन्, ‘जनतामा बढेको निराशा, जन अपेक्षा र डेलिभरीका खाडलको सन्दर्भमा हामी ठोस र देखिने खालका कदम चाल्ने छौं ।’
रचनाले एमाले जनसंगठन विभागको उपप्रमुखका रुपमा २३ वटै जनसंगठनमा काम गरेकी छन् । अनेरास्ववियुको शीर्षस्थ तहसम्म काम गरेर पार्टीमा सक्रिय उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र र संवैधानिक तथा अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेकी छन् । एमाले नेतृत्व छान्न आज साँझदेखि मतदान हुने एमाले ले जनाएको छ ।


