काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न पाँच ठाउँमा दिउँसै चोरीका घटना भएका छन् । प्रहरीले जनाए अनुसार काठमाडौंका तीन र ललितपुरका दुई स्थानमा सोमबार दिउँसो नगद र गरगहना चोरी भएको हो ।
सोमबार दिउँसो काठमाडौंको तारकेश्वर नगरपालिका–११ डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भएकी २६ वर्षीया सुनिता बजगाईको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २ लाख ९१ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१५ धिमेलो डेरा गरी बस्ने ४३ वर्षीय धर्म रत्न शाहीको कोठामा पनि सोमबार दिउँसो चोरी भएको छ । उनको डेराबाट सुन तथा चाँदीका गरगहना र ल्याप्टप १ थान गरी करिब ७ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–१ भैरब टोल डेरा गरी बस्ने महोत्तरी घर भएका ४४ वर्षीय जानेन्द्र लाल कर्णको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ४ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका–१ मै कृष्ण मन्दिर चोक डेरा गरी बस्ने अर्घाखाँची घर भएका बाबुराम पाण्डेको कोठामा पनि चोरी भएको छ । उनको डेराबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब ३९ लाख ४७ हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म चोरीमा संलग्नहरु पक्राउ परेका छैनन् । प्रहरीले उनीहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।

