काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा आपत्ति जनाएका छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रअघि आइतबार (मंसिर २८) काठमाडौंको भृकुटीमण्डपमा बसेको बैठकमा उनले विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाउने विषयमा असन्तुष्टि जनाएका हुन् ।
“बदलिएको परिस्थितिले अंक बढाऊ भनेको होइन । बदलिएको परिस्थितिले त हामीलाई बदलिऊ भनेर जबरजस्त सन्देश दिएको छ,” एक नेताले पोखरेलको भनाइ उद्धृत गरे, “के संख्या बढाएर क्षमता बढ्छ भने अस्तिको हाम्रो क्षमता जँचिएन ?”
नेतृत्वमा दुई कार्यकालबारे पनि प्रश्न उठाइएको उनले बताए । तर, उक्त विषयमा छलफल नगरिएको भन्दै उनले असन्तुष्टि जनाए । पोखरेलले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरिसकेका छन् ।
“के हाम्रा विधानहरू अस्थायी हुन् ? जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऊँ भन्ने तपाईंहरू नै होइन ?,” उनले प्रश्न गरेका थिए, “वैधानिक विषयअनुसार चलौँ, महासचिवले प्रस्तुत गरेको कार्यसूचीअनुसार चलौँ । दायाँबायाँ नगरौँ ।”


