तानसेन । नवलपरासी पूर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिकातर्फ गइरहेको यात्रुवाहक जिप आज बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
लु१ज ३९०८ नम्बरको फोर्स जिप पाल्पाको निस्दी गाउँपालिका –४ मित्याल चिउरीबासमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी गरा।
दुर्घटनामा परी मृत्यु भएका मध्ये दुई जनाको मात्र सनाखत भएको छ भने एक महिलाको अझैसम्म सनाखत हुन सकेको छैन। दुर्घटनामा परी मृत्यु हुनेमा पाल्पा निस्दी गाउँपालिका–७ मित्यालकी ३६ वर्षीया हेम कुमारी सारु, सोही गाउँपालिका–४ की ४५ वर्षीया ओम कुमारी खाँम्चा रहेका छन् भने एक जना महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रनाउ चौधरीले जानकारी दिए।
दुर्घटनास्थलबाट उद्धार गरी ८ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचाररत रहेका मध्ये ४ जना चितवन मेडिकल कलेज रिफर भएका छन्।