–निमकान्त पाण्डे
जेनजी आन्दोलनले पुराना पार्टी तथा तिनका नेताहरुलाई ठूलो धक्का दिएको छ । अब पनि पुराना नेताहरु सच्चिन तयार भएनन् भने जनता जुनसुकै बेला जाग्न सक्छन्, कारबाही गर्नसक्छन् भन्ने सन्देश यो आन्दोलनले दिएको छ । झूटा आश्वासन बाँडेर र पूरा नहुने, नगर्ने सपना बाँडेर अब जनतालाई झुक्यारहन सकिँदैन भन्ने पनि यो आन्दोलनले स्पष्ट पारेको छ । यही आन्दोलनले अब पुराना पुस्ता राजनीतिका लागि योग्य नरहेकाले नयाँ पुस्ताले अवसर पाउनुपर्छ भन्ने मागदर्शन पनि गरेको छ ।
के जेनजी आन्दोलनले देखाएको बाटोमा राजनीतिक दल र तिनका नेता अघि बढ्न इच्छुक देखिएका छन् त ? के उनीहरु सच्चिन तयार भएका हुन् त ? जेनजी आन्दोलनले पार्टीहरुमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवश्यकता औंल्याएको थियो । के त्यो पूरा गर्न नेताहरु तयार भएका हुन् त ? जेनजी आन्दोलनयताको ३ महिनाको अवस्था हेर्दा राजनीतिक दलहरुले सुध्रिने छाँटकाँट ल्याएका छैनन् । बरु नेताहरु आफैंमा एकआपसलाई गालीगलौज गर्ने, पतनको बाटोमा लागेको संज्ञा दिने तर आफ्नो गल्ती, कमजोरी नदेख्ने प्रवृत्ति देखिएको छ ।
विघटित प्रतिनिधिसभामा दोस्रो ठूलो दल रहेको एमाले अहिले महाधिवेशनको संघारमा छ । जेनजी आन्दोलनका कारण एक वर्षअघि नै एमालेले महाधिवेशन गर्न लागेको हो । यसपटकका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका छन्, केपी शर्मा ओली र ईश्वर पोखरेल । अध्यक्ष ओली तेस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बन्न लागेका हुन् भने वरिष्ठ उपाध्यक्ष पोखरेल पहिलोपटक अध्यक्षमा उठ्दै छन् । महाधिवेशनमा विचार, एजेन्डाका विषयमा छलफल हुनुपर्ने हो, तर नेताहरु भने एकआपसलाई गाली गरेर आफू योग्य हुँ भन्ने प्रमाणित गर्न लागिपरेका छन् ।
उदाहरणका लागि पोखरेल समूहले तयार पारेको अवधारणापत्रमा ओलीको अडानलाई पतनको सुरुवातको संज्ञा दिएका छन् । कमरेड लेनिनले भनेजस्तो सब ठीक छ भन्ने अतिवाद स्थिरता होइन, पतनको सुरुवात भएको उनले जनाएका छन् । यस्तो विचार हाम्रो सुन्दर भविष्यको बाधक र अवरोधक भएको जनाएका छन् । यस्ता अतिवादी विश्लेषणबाट मुक्त हुनु जरुरी रहेको पनि उनले उल्लेख गरेका छन् । उता, ओलीले पनि पोखरेल र पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति तीखो टिप्पणी गर्दै आएका छन् । पोखरेललाई भण्डारी पक्षको समर्थन रहेको छ । तर, यसप्रति असन्तुष्ट ओलीले भण्डारीका उम्मेदवारले महाधिवेशनमा कति मत ल्याउँछन्, त्यो पनि हेरौंला जस्ता अभिव्यक्ति दिँदै आएका छन् । यसरी एकआपसमा हिलो छ्यापाछ्याप गर्ने प्रवृत्ति जेनजी आन्दोलनयता पनि कायमै छ ।
तर, नेताहरुले आफ्नो कार्यशैली, नीति र योजनाबारे भने छलफल गर्न चाहेका छैनन् । एमालेको यही महाधिवेशनलाई पनि नीतिबारे छलफल नभई नेतृत्व छान्ने माध्यमका रुपमा लिइएको छ । तर, अहिले नेतृत्वमा रहेका र दोस्रो पुस्ता भनिएका नेताहरुले पनि विगतमा धेरै पटक अवसर पाएर आफ्नो क्षमता देखाइसकेका छन् । उनीहरुकै भाषामा भन्ने हो भने पनि देशको सेवा धेरै गरिसके । त्यसैले राजनीतिक दलले नयाँ पुस्तालाई अघि बढ्न प्रेरित गर्ने हो, त्यसका लागि वातावरण तयार पारिदिने हो । यो काम नेतृत्वमा रहेका नेताहरुले नै गर्ने हो न कि आफूआफूबीच मनमुटाव गरेर वा नेतृत्वका लागि लडेर होइन ।
एमाले मात्र होइन, अन्य दलले पनि जेनजी आन्दोलनको सन्देशलाई आत्मसात् गर्न सकेका छैनन् । विघटित प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेसमा करिब डेढ महिनापछिको रस्साकसीपछि महाधिवेशनको मिति तय त भएको छ, तर महाधिवेशन हुन्छ या हुँदैन भन्ने टुंगो छैन । नेपाली कम्युनिस्ट पार्टीका रुपमा केही वामपन्थी दल एकीकृत भएका त छन् तर उनीहरुको कार्यशैली पुरानै छ । उनीहरु बरु आफू सिद्धिन तयार छन्, तर सच्चिन तयार छैनन् । अन्य साना दलले त नेतृत्व, नीतिका विषयमा छलफल पनि गरिरहेका छैनन् । आगामी फागुन २१ मा हुने निर्वाचनलाई देखाएर उनीहरुले पार्टीभित्र परिवर्तनको बहसलाई टार्दै आएका छन् ।
समग्रमा नेताहरुले जेनजीको आन्दोलन आत्मसात् स्पष्ट हुँदै गएको छ । यो उनीहरुका लागि झन् खतराको संकेत हो । विगतमा केही निश्चित दल र नेताको सत्ताका लागि म्युजिकल चेयर दौडकै कारण जेनजी आन्दोलन भयो । तर यसलाई वर्षौंपछि हुने एउटा अस्वाभाविक घटनाको रुपमा व्याख्या गर्न नेताहरु लागिपरेका छन्, सुध्रिने लक्षण देखाएका छैनन् । बरु एकअर्कालाई गलत देखाएर आफू ठीक हुँ भन्ने बाटोमा छन् । त्यसैले एकअर्कालाई पतनको बाटोमा लागेको आरोप लगाइरहेका छन् । अन्तमा अरुलाई पतनको बाटोमा देख्नेहरुले आफैलाई पतन हुनबाट बचाउने कसरी ? सोच्न जरुरी छ, सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक


