काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । आयोगले घुस÷रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको हो ।
जसमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईलाई ७९ लाख ८० हजार बिगो माग गरिएको छ ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन अधिकृत यज्ञ राज अर्यालसँग ८ लाख बिगो माग गरिएको छ । ग्रिनलाइन होलिडेज प्रा.लि. र उक्त कम्पनिका अध्यक्ष बाल कृष्ण खड्कासँग ३० लाख २० हजार बिगो माग गरिएको छ । फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रा.लि. र उक्त कम्पनीका संस्थापक शेयर सदस्य एवं सञ्चालक दिपक भण्डारीविरुद्ध १० लाख ६० हजार बिगो मागदावी गर्दै मुद्दा दायर गरिएको छ ।
ग्रिनलाइन होलिडेज प्रा.लि.का तत्कालीन संस्थापक शेयर सदस्य एवं सञ्चालक राम खड्कासँग ३० लाख २० हजार, कविता पौडेलसँग ७९ लाख ८० हजार र खेम प्रसाद सुवेदीबाट ७९ लाख ८० बिगो मागदावी गरिएको छ ।
त्यस्तै तिर्थ राज भट्टराई, कविता पौडेल र खेम प्रसाद सुवेदीसँग सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिमको कसुरमा १ करोड ३ लाख ७९ हजार ६०० का दरले थप बिगो माग गरिएको छ ।


