काठमाडौं । विलिङले आफ्नो ‘विंगो’ फ्यामिलीमा नयाँ मोडेल ‘विंगो प्रो’ थपेको छ। ह्याचव्याक सेग्मेन्टमा आएको यो मोडेल नियमित विंगोको तुलनामा ठूलो र बढी रुमी बनाइएको छ।
चिनियाँ ग्रुपहरु एसएआइसी र विलिङ तथा अमेरिकी कम्पनी जनरल मोटरको संयुक्त लगानीमा बनेको विलिङ ब्रान्डले २०२३ मा पहिलो विंगो ह्याचव्याक सार्वजनिक गरेको थियो। नेपालमा यसको बिक्री पारामाउन्ट मोटर्समार्फत हुँदै आएको छ।
विलिङले विंगो प्रो मोडलमा दुई ब्याट्री अप्सन दिएको छ । सानो ब्याट्री ३१.९ किलोवाट आवरको छ । ठूलो ब्याट्री भने ४१.९ किलोवाट आवरको छ । दुबै ब्याट्री बीच १० किलोवाट आवरको प्रस्ट अन्तर दिइएको छ । ठूलो ब्याट्रीले सीएलटीसी साइकल अनुसार ४३० किलोमिटर रेन्ज दिनेछ ।
विलिङले राइट–ह्याण्ड ड्राइभ मोडेल चीनमै बनाउँदैन। यस्तो मोडेल इन्डोनेसिया प्लान्टमा उत्पादन हुन्छ, जसले गाडीलाई महँगो बनाउँछ। नेपालमा विंगो ह्याचव्याकको बिक्री अपेक्षाकृत कम भएको जनाइन्छ।
हाल विंगो प्रोको राइट–ह्याण्ड ड्राइभ उत्पादनबारे कम्पनीले योजना सार्वजनिक गरिसकेको छैन। त्यसैले यो मोडेल नेपाल कति छिटो आउँछ भन्ने विषयमा अझै केही महिना कुर्नुपर्ने जनाइएको छ ।


