काठमाडौं । आउँदै गरेकाे प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १ सय २ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएकाे छ ।
फागुन २१ गते हुन लागेकाे निर्वाचनमा १ सय २० वटा राजनीतिक दलले निर्वाचनमा सहभागीता जनाउनका लागि निवेदन दिएकोमध्ये १ सय २ वटा दलहरूले एक्लाएक्लै निर्वाचनमा जानेगरि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराए । १२ वटा राजनितिक दलहरूले भने संयुक्त रुपमा एकल चिन्ह प्रयोग गरी निर्वाचनमा जानेगरी आयोगमा निवेदन दिएको उनले जनाए ।
‘हामीलाई छुट्टाछुट्टै निर्वाचनमा भाग लिनको लागि र एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जानको लागी विभिन्न १२० वटा निवेदन प्राप्त भएका थिए । १ सय २० वटा निवेदन प्राप्त भएकोमध्ये १०२ वटा दलले आफू मात्रै एक्लै चुनावमा जाने गरी निवेदन दिनुभएकोमा उहाँहरूको निवेदन स्वीकृत भएको छ,’ उनले भने, ‘१२ वटा दलले संयुक्त रुपमा, १२ वटा एउटै समूहमा होईन, कुनैमा दुई दल कुनैमा तीन दल मिलेर एकल चुनाव चिन्ह प्रयोग गर्नेगरि दल दर्ताको निवेदन दिनुभएको थियो । त्यसमध्ये १२ वटा दलको ५ वटा निर्वाचन चिन्ह प्रयोग गर्नेगरी स्वीकृत भएको छ ।’
आयोगले राजनितिक दलहरूको निवेदन स्वीकृत गरिसकेको छ ।
‘१ सय २० वटा निवेदनमध्ये १ सय १४ वटा दलले निर्वाचनमा भाग लिन पाउने भएका छन् । १ सय १४ मध्ये १०२ दलले आ–आफ्नो निर्वाचन चिन्ह प्रयोग गरेर जाने र १२ वटा दलले विभिन्न समुहमा रहेर ५ वटा निर्वाचन चिन्ह प्रयाग गरेर निर्वाचनमा जानेगरि प्रतिनिधि सभा निर्वाचनमा १ सय १४ वटा दल १ सय ७ वटा चिन्हमार्फत निर्वाचनमा सहभागी हुनेछन्,’ उनले भने ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने आइतबारबाट सुरु गरेको छ ।
समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंगलवारसम्म निवेदन दिन सक्नेछन् । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ । बन्दसूचि पेश गर्दा ५० प्रतिशत महिला हुनुपर्ने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका छ ।
समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिने प्रक्रियाका लागी राजनितिक दलहरू निर्वाचन आयोगमा जाने क्रम बढेको छ ।


