हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा विस्थापित भएकाका परिवारलाई हेटौंडा उपमहानगरपालिकाले आवास व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ ।
उपमहानगरपालिका कार्यालयको आज आइतबार बिहान बसेको ७६औं कार्यपालिका बैठकले प्रभावित परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण र समन्वय गर्ने निर्णय गरेको हो ।
मुख्य बजार क्षेत्रका घरटहरा र संरचनाहरु भग्नावशेष बनेपछि उपमहानगरपालिकाले कार्यपालिका बैठकमार्फत विशेष निर्णयहरु गरेको १ नम्बर वडाका वडाध्यक्षसमेत रहेका उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
प्रभावित घरधनीहरुको घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण व्याजदरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालय मार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने पनि निर्णय भएको छ । प्रभावितहरुको भवन निर्माणका लागि सहजता कायम गर्न ‘फाष्ट ट्रयाक’ प्रक्रियाबाट प्राविधिक सहयोग सहित नक्सापास लगायतका सेवाहरु प्रवाह गरिने भएको छ ।
सडक विस्तारका क्रममा प्रभावित भई व्यवसायको निरन्तरता हुन नसकेका व्यवसायीको लगत लिएर व्यवसाय सुरु नहुँदासम्म व्यवसाय कर छुट दिनका लागि नगर सभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले जनाए । बजार क्षेत्र भएर जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गको रुपमा सञ्चालन गर्न नगर सभा मार्फत संघीय सरकारलाई अनुरोध गर्ने निर्णय उपमहानगरपालिकाले गरेको छ ।
प्रभावित क्षेत्रमा हेटौंडाको पहिचान झल्किने गरी नमूना र सौन्दर्यता कायम गर्न उपयुक्त घर निर्माण मोडल तयार गरी कार्यान्वयन समेत गरिने प्रवक्ता न्यौपानेले बताएका छन् । यसैगरी, प्रभावितहरुको भवन निर्माणमा नक्सापास गर्न लाग्ने दस्तुरको २०२० वर्गफिट सम्मको नक्सा पास दस्तुर छुट दिन नगर सभा समक्ष पेश गर्ने र घर निर्माणका लागि सामग्रीहरु सुलभ रुपमा उपलब्ध गराउन सहजीकरण गर्ने निर्णय पनि उपमहानगरले गरेको छ ।
महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको ८ दशमलव ५ किलोमिटर सडक विस्तार हुँदैछ ।
सडक डिभिजनले ५ सय ३१ वटा निर्मित घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने जनाएको छ । सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जनाए ।


