काठमाडौं । पुरानो बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टको आयोजनामा सातौँ ग्लोबल अन्तर्राष्ट्रिय सम्मलन सुरु भएको छ । कलेजले आफ्ना सहयोगी संस्था, मिडिया पार्टनर तथा नेपाली र अन्तर्राष्ट्रिय एकेडेमिक समुदायको सहकार्यमा सातौँ ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन सुरु गरेको हो ।
‘व्यवस्थापनको एकाई र मेसिन लर्निङसँग एकीकरणः दिगो विकास र नवप्रवर्तनका लागि’ भन्ने थीममा आयोजना गरिएको सम्मेलनमा सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । कलेजले सन् २०१९ देखि सञ्चालन गर्दै आएको कार्यक्रम यस वर्ष भने अन्तर्राष्ट्रिय सम्मेलन डिजिटल प्रविधि, व्यवस्थापन तथा दिगो विकासका बहसलाई केन्द्रमा राख्दै सम्पन्न भएकाे छ।
यो कार्यक्रम कलेजको प्रमुख कार्यक्रममध्ये एक हो । सम्मेलन सल्लाहकार तथा ग्लोबल कलेज र यसका सहयोगी संस्थाहरूका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक डा.देवराज पनेरुका अनुसार व्यवस्थापन क्षेत्रमा एआईको तीव्र प्रभाव र अवसरलाई ध्यानमा राखी यसपटक विशेष रूपमा एआई र मेसिन लर्निङ एकीकरणबारे बहस गरिँदै छ । ‘अब एआई एक उदियमान घटना बनेको छ ।
अनुसन्धान, नीति–निर्माण र व्यावहारिक अभ्यासमा अन्तर्राष्ट्रिय संवाद अपरिहार्य भइसकेको छ’, उनले भने । उनका अनुसार सचेत रूपमा विकास नगरे एआई मानव क्षमताभन्दा अगाडि जान सक्ने सम्भावना भएकाले मानव केन्द्रित प्रविधि विकास, अनुसन्धान र साझेदारी आवश्यक छ ।
ग्लोबल कलेजले पछिल्लो समय बेलायतको हडर्सफिल्ड विश्वविद्यालयसँग शैक्षिक सहकार्य विस्तार गर्दै एआई, साइबर सेक्युरिटी र कम्प्युटर सिस्टमसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । उनले यो सहकार्यका कारण सम्मेलनले दीर्घकालीन महत्त्व पाउने विश्वास व्यक्त गरेका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा १० भन्दा बढी देशका वक्ताहरू सहभागी हुनेछन् । उद्घाटन सत्रमा नीति निर्माता, चिन्तक, अनुसन्धानकर्ता र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थिति छ । आज विभिन्न शैक्षिक तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सयौँ अनुसन्धान पत्र प्रस्तुत गरिनेछ भने भोलि प्यानल छलफल हुनेछ ।
प्यानल सत्रमा ‘एआई एकीकरणको तयारी र अभ्यास’ विषयमा मिडवेस्ट विश्वविद्यालयका रजिस्ट्रारसहित अन्तर्राष्ट्रिय विज्ञहरूले छलफल गर्नेछन् । ‘हामी नेपाली मात्र होइन, विश्व ज्ञान समुदायलाई एआईको जिम्मेवारीपूर्ण प्रयोगबारे सन्देश दिन चाहन्छौँ,’ डा.पनेरुले भने । उनले विद्यार्थीका लागि डिजिटल र एआई साक्षरतालाई अब विलासिता नभई आवश्यकताका रूपमा बुझ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
जुनसुकै संकायका विद्यार्थीका लागि डेटा आधारित निर्णय क्षमता र एआई बुझाइ अब अनिवार्य भइसकेको उनको भनाइ थियो । ११ हजारभन्दा बढी विद्यार्थी भएको ग्लोबल कलेज समूहले यो कार्यक्रम ज्ञान, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्य विस्तारका लागि महत्त्वपूर्ण मञ्च भएको जनाएको छ ।


