काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि इन्डोनेसियामा रहेको नेपाली राष्ट्रिय महिला टिम आफ्नो दोस्रो तथा अन्तिम खेलमा चाइनिज ताइपेईसँग १-० ले पराजित भएको छ। बलियो टोलीविरुद्ध नेपाली महिला खेलाडीले साहसिक प्रदर्शन गरे पनि हार टार्न भने टोली असफल भयो।
प्रतियोगितामा बलियो चाइनिज ताइपेईविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेले पनि नेपालले दोस्रो हाफमा १ गोल खान पुगेको थियो।
खेलको ५३औँ मिनेटमा ताइपेईकी मिडफिल्डर केसिङ्ग हुवाङ्गले गरेको एक मात्र गोल निर्णायक बन्यो। नेपालविरुद्ध सुरुवातबाटै दबाबमा राख्दै खेल नियन्त्रणमा राखे पनि चाइनिज ताइपेईका प्रयासलाई नेपाली खेलाडीले असफल बनाएका थिए। जितसँगै त्रिदेशीय सिरिजमा चाइनिज ताइपेईले दुवै टोलीसँग जित हासिल गर्यो।
यसअघि चाइनिज ताइपेईले इन्डोनेसियालाई ५-० को फराकिलो अन्तरले हराएको थियो। नेपाल भने पहिलो खेलमा गत १० मंसिरमा इन्डोनेसियासँग सुरुवाती अग्रताका बाबजुत २-१ ले पराजित भएको थियो।
फिफा वरियतामा नेपाल ८९ औँ स्थानमा रहँदा ताइपे ४२औँ स्थानमा रहेको छ। सन् १९७७ मा अन्तर्राष्ट्रिय महिला प्रतियोगितामा सहभागिता जनाएको चाइनिज ताइपेले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधिसमेत जितेको थियो।
सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको नेपालले पनि एसियन कप खेलेको भए पनि नेपाल समूह चरणमै सीमित छ। अर्कोतर्फ दक्षिण एसियाली फुटबल प्रतियोगिता साफमा पनि नेपाल पटक-पटक फाइनल पुगेर पनि उपाधिविहीन रहेको छ।


