एजेन्सी । जापान सरकारले मुसलमानहरूको लागि थप चिहानघाट बनाउन कुनै पनि अतिरिक्त जमिन उपलब्ध गराउने आग्रह अस्वीकार गरेको छ। सरकारले मृतक मुसलमानहरूको अन्तिम संस्कारका लागि उनीहरूको शव आफ्नै मूल देशमा लैजानुपर्ने स्पष्ट गरेको छ।
हाल जापानमा करिब दुई लाख मुसलमान बसोबास गर्दै आएका छन्। तर जापानी सहरहरूमा जमिनको अत्यधिक अभावका कारण नयाँ चिहानघाट निर्माण सम्भव नसकेको सरकारले जनाएको छ। विशेषगरी बौद्ध र शिन्तो परम्परा प्रबल भएको जापानमा ९९ प्रतिशतभन्दा बढी अन्त्येष्टि दाहसंस्कारमार्फत गरिन्छ, जसका कारण मुस्लिम परम्पराअनुसार गाडेर अन्त्येष्टि गर्न आवश्यक हुने नीति परिवर्तन गर्न सरकार तयार छैन।
यो निर्णयपछि जापानमा बसोबास गर्ने आप्रवासी मुस्लिम समुदायसँगै जापानी नागरिकता प्राप्त गरिसकेका मुसलमानहरू पनि समस्यामा परेका छन्। इस्लाम धर्ममा शव गाडेर मात्रै अन्तिम संस्कार गर्ने व्यवस्था भएकाले अहिले मुसलमानहरूले आफ्नो मृत आफन्तको शव अन्तिम संस्कारका लागि आफ्नै देशमा पठाउनुपर्ने बाध्यता सिर्जना भएको छ।
समुदायका प्रतिनिधिहरूले यसलाई धार्मिक अभ्यासमा हस्तक्षेप भएको भन्दै चासो जनाए पनि जापान सरकारले चिहानका लागि आवश्यक जमिन व्यवस्थापन असम्भव भएको दोहोर्याइरहेको छ।


