काठमाडाैं । लुम्बिनी प्रदेशसभा सदस्य रेवती गुरुङले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। सोमबार लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष गुरुङले शपथ लिएकी हुन् ।
रुकुमबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी सरिता पुनको निधनपछि रिक्त पदमा एमालेकी रेवती गुरुङ नियुक्त भएकी थिइन् ।
निर्वाचन आयोगको मंसिर ११ गतेको निर्णयअनुसार रिक्त स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो ।
रुकुमपूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो ।
पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी रेवती गुरुङलाई मनोनयन गरिएको हो । ८७ सदस्यीय प्रदेशसभामा २९ सांसदसहित एमाले पहिलो दल हो ।


