काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।
उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले निर्देशन दिएको हो ।
पत्रमा रास्वपाका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने, उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिएको पाइएको भन्दै यो विषयमा उम्मेदवार छनोट समितिको ध्यानाकर्षण भएको उल्लेख छ ।
यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन भन्ने विषयमा स्पष्ट हुन आग्रह गरिएको छ ।
‘पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।
उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न संयोजक आचार्यले अपिल गरेका छन् ।
रास्वपाले उम्मेदवार चयनका लागि सहमहामन्त्रीआचार्यको नेतृत्वमा विधि बनाएको छ ।
नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेलले ओखलुढुङ्गा र पर्यपटन बोर्डका पूर्व प्रमुख धनञ्जय रेग्मीले स्याङ्जा–१ मा चुनावी प्रचार सुरु गरिसकेका छन् । दुवै जना रास्वपामा नवप्रवेशी हुन् ।


