काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरलाई वार्ताका लागि बोलाएका छन् । सभापति शेरबहादुर देउवासँग शुक्रबार भएको छलफलपछि उनले विशेष महाधिवेशन पक्षधरलाई वार्ताका लागि बोलाएका हुन् ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने नेतामध्येका एक गुरूराज घिमिरेले वार्ताका लागि कार्यवाहक सभापति खड्काले बोलाएको पुष्टि गरे । उनका अनुसार कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई शनिबार बिहान साढे ८ बजेका लागि वार्तामा बोलाएका थिए ।
तर, विशेष महाधिवेशन पक्षधरले भने मौखिक रूपमा गरिएको वार्ताको निमन्त्रणालाई स्वीकार नगर्ने निर्णय गरेको नेता घिमिरेले जानकारी दिए । ‘पार्टीले हामीलाई अफिसियल्ली पत्र व्यवहार गरेकै छैन । हामीले पार्टीलाई अफिसियल व्यवहार गरेका छौं,’ घिमिरेले भने, ‘त्यसकारण अनअफिसियल व्यवहारलाई हामी सम्मान गर्छौं । तर, हामी सहभागी हुँदैनौँ ।’ कार्यवाहक सभापति खड्काले वार्ताका लागि बोलाएपछि आफूहरू बैठक बसेको र बैठकबाट वार्तामा सहभागी नहुने निर्णय गरेको उनले जनाए ।
कांग्रेसको १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यबाहक सभापति खड्कालाई विशेष महाधिवेशनको लिखित माग बुझाएका थिए। विधानअनुसार माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।


