प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँबाट सेवानिवृत्त प्राध्यापक डाक्टर प्रेम शर्माको जीवनीमा आधारित “एक जीवन तीन मिसन” शीर्षकको कैलाश मानसरोवर यात्रा समेटिएको आत्मपरक वृत्तचित्र एक भव्य समारोहका विच सार्वजनिक गरिएको छ ।
प्रा. डा प्रेम शर्मा निर्माता रहेको उक्त वृतचित्रको लेखन एबम निर्देशन उप प्रा. डा राजन बिनायक पासाले गर्नुभएको थियो। उत्सव बज्राचार्यको संगीत प्रशान्त श्रेस्ठको सम्पादन रहेको सो वृतचित्रमा अम्बिका प्रधान र दुर्गाराज पाण्डेको स्वरान्कन रहेको छ। काठमाडौंको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM)मा आयोजित कार्यक्रमको प्रमुख अतिथि काडमाडौं विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायका डिन प्रा.डा बालचन्द्र लुइटेलले पानसमा दीप प्रज्जवलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुइटेलले प्रेम शर्माको जीवनबाट धेरै प्रेरणा लिन सकिने भन्दै वृत्तचित्र एउटा महत्वपूर्ण विधा भएको र यसलाई धेरैले हेर्ने र धेरै ठाउँमा पुग्ने धारणा राख्नुभयो । अर्को प्रसङ्गमा वहाँले प्राध्यापकले सार्वजनिक चासोका विषयमा बोल्न र लेख्न सक्नुपर्छ भन्नु हुँदै सिक्ने र सिकाउनेका विचमा विरोधाभाष हुन नहुने विचार राख्नुभयो ।
आफुलाई हेर्न सक्नु विजयी हुनु हो र संस्था भनेको खोज, अध्ययन र आलोचनाको संगम हो भन्ने विचार व्यक्त गर्नुहुँदै प्रमुख अतिथि लुइटेलले नवीन कार्यको थालनी गरेकोमा वृत्तचित्र निर्माता र निर्देशकहरुलाई धन्यवाद समेत दिनुभयो । उक्त समारोहमा वृत्तचित्र निर्माता एवम् निर्देशक त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास विभागका उप प्राध्यापक डा.राजन विनायक पासाले स्वागत मन्तव्य राख्नुहुँदै वृत्तचित्र निर्माणको आवश्यकता र औचित्य माथि प्रकाश पार्नुभएको थियो । स्वागत मन्तव्यका क्रममा प्राध्यापक पासाले जसरी अमेरिकी राष्ट्रपति अब्राहाम लिङ्कनको जीवन प्रेरणादायी र सङ्घर्षपूर्ण छ उसै गरी प्रेम शर्माको जीवन प्रेरणदायी र सङ्घर्षपूर्ण रहेकोले प्रेम सरको जीवनीमा आधारित आत्मपरक बृत्तचित्र निर्माण गरेर नयाँ कार्यको थालनी गरेको विचार व्यक्त गर्नुभयो । मन्तव्यकै क्रममा उहाँले शिक्षाले रुपान्तरण गर्ने, रुपान्तरणका लागि प्रेरणा चाहिने भन्दै एक जीवन तीन मिसनका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै त्रिभुवन विश्वविद्यालय नेपाली विभागका सह प्राध्यापक डा नेत्र न्यौपानेले हिन्दु धर्म र हिन्दु सभ्यतालाई कैलाश मानसरोवरले चिनाएको चर्चा गर्नुभयो । चार धर्मको पावन स्थल रहेको मानसरोवर वृत्तचित्रमा दृश्यचित्र र शब्दचित्रको संयोजन आकर्षक रहेको बताउनुभयो । उहाँले वृतचित्र निर्माता निर्देशकहरुको प्रशंसा गर्दै वृत्तचित्र शर्माको एक जीवनले तीन लक्ष्य बोकेको नियात्रापरक निबन्ध बन्न पुगेको विचार व्यक्त गर्नुभएको थियो । शुभकामना मन्तव्यका क्रममा त्रि.वि. ग्रामीण विकास केन्द्रीय विभागका विभागीय प्रमुख सह प्राध्यापक डा. सुमन खरेलले प्रा.डा. शर्माको व्यक्तित्वबाट आफु प्रभावित भएको विचार राख्दै पीडामा पनि हाँस्न सक्ने र हरेकलाई दिशाबोध गर्न सक्ने प्रेम शर्मा एक अथक यात्री रहेको तथा सिद्धान्तलाई व्यवहारमा उपयोग गर्न सक्नु नै सही शिक्षा भएको धारणा व्यक्त गर्नुभयो । यसै गरी बरिस्ठ बाल आँखा रोग विशेषज्ञ प्रा. डा.सविना श्रेष्ठले प्रेम शर्माको व्यक्तित्वबाट प्रभावित भएको भन्दै कैलाश मानसरोवरको धार्मिक महत्वमाथि चर्चा गर्नुभयो ।
प्रेम शर्मा सभापति रहनु भएको उक्त कार्यक्रममा समापन मन्तव्य राख्नुहुँदै प्रा. डा शर्माले जीवनका थुप्रै पाटा रहेको र आफुले कैलाश मानसरोवर यात्रा गर्दाका स्मृतिहरुलाई कार्यक्रममा स्मरण गर्नुभयो । जीवनमा आफुले देखे भोगेका घटनाहरुलाई समेटेर वृत्तचित्र बनाई गुरुदक्षिणा प्रदान गरेकोमा वृत्तचित्र निर्माता निर्देशक आफ्ना विद्यार्थीलाई धन्यवाद दिनुभयो । नेपाल सम्भावना र अथाह ज्ञानले भरिएको देश हो भन्दै भावी पुस्तालाई नयाँ सिर्जना र व्यावहारिक शिक्षामा लाग्न सन्देश दिनुभएको थियो । कार्यक्रमको अन्तमा विभिन्न अतिथिहरु र सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन कान्तिपुरकर्मी दुर्गाराज पाण्डेले गर्नुभएको थियो ।


