काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ ।
सो कमीपछि नेप्से २५६० अंकमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोडको भयो । दिनभर बजारको उतारचढाव सामान्य रहेकाे छ ।
जेनजी आन्दोलनपछि होटल तथा पर्यटन समूह सबैभन्दा धेरै प्रभावित हुने अनुमान गरिएको थियो । सोअनुसार होटल तथा पर्यटन सेक्टरका सबैजसो कम्पनीको मूल्य उच्च दरले घटेको थियो । तथापि पर्यटन सिजन सुरु हुँदा केहीबाहेक अधिकांशमा त्यसको असर देखिएको छैन । जसले गर्दा लगानीकर्ता यस सेक्टरमा अहिले आकर्षित देखिएका छन् ।
बैंकिङ ०.३४, विकास बैंक ०.०८, लगानी ०.५२, जीवन बीमा ०.०६ र निर्जीवन बीमा ०.३३ प्रतिशत घटे । चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी छन् । यीमध्ये धौलागिरीबाहेक अरु कम्पनी हालै सूचीकृत भएका हुन् । त्यस्तै सिन्धु विकास बैंकको ९.६०, सप्तकोशी विकास बैंकको ७.७१, चिरख्वा हाइड्रोपावरको ६.८० प्रतिशत मूल्य बढ्यो । यसका साथै बुंगल हाइड्रोको मूल्य सबैभन्दा धेरै ९.०५ प्रतिशत घट्यो । दरामखोलाको ४.९१ तथा विकास हाइड्रोपावरको ३.७९ प्रतिशत घटेकाे थियाे ।
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर छन् ।


