काठमाडौं । जर्मनीको संघीय तथ्यांक कार्यालयको ताजा तथ्यांकअनुसार, सन् २०२४ मा देशमा १८ वर्षभन्दा कम उमेरका लगभग १५.२ प्रतिशत बच्चाहरू (२२ लाख बच्चा र किशोर) गरिबीको जोखिममा रहेको जनाइएको छ । यो तथ्यांक सन् २०२३ मा १४ प्रतिशत थियो ।
सम्पूर्ण युरोपेली संघ (ईयू)मा बच्चाहरूमा गरिबीको अवस्था अझै नराम्रो छ । हाल ईयूको औसतमा १९ प्रतिशतभन्दा बढी बच्चा र किशोर गरिबीको जोखिममा बाँचिरहेका छन् ।
गरिबीको जोखिम कसरी निर्धारण हुन्छ ?
जर्मनीको कुल जनसंख्याको १५.५ प्रतिशत मानिस गरिबीको जोखिममा पर्ने श्रेणीमा छन् । तथ्यांकमा गरिबीको जोखिमको परिभाषा ती व्यक्तिहरूमा लागु हुन्छ, जसको मध्यम ‘खुद समतुल्य आय’ को ६० प्रतिशतभन्दा कम आय हुन्छ ।
यो सीमा परिवारको आकार जस्ता कारकहरूलाई ध्यानमा राखेर तोकिन्छ । उदाहरणका लागि, सन् २०२४ मा एकल व्यक्तिको लागि यो सीमा प्रतिमहिना १३ सय ८१ युरो थियो ।
एकल अभिभावक र १४ वर्षभन्दा कम उमेरका बच्चा भएको परिवारको लागि यो सीमा १७ सय ९५ युरो थियो । १४ वर्षभन्दा कम उमेरका दुई बच्चा र दुई वयस्क भएको परिवारलाई गरिबीको जोखिममा रहेको मानिन्थ्यो, यदि उनीहरूको मासिक आय २९ सय युरोभन्दा कम थियो ।
कुन परिवारहरूमा बढी जोखिम ?
रिपोर्टमा अर्को महत्त्वपूर्ण तथ्य पनि देखिएको छ । कम शिक्षित आमाबुबा भएका परिवारहरूमा आर्थिक जोखिम धेरै पाइएको छ । यसबाहेक, जो बच्चाहरू आफू अन्य देशबाट आएर जर्मनीमा बसेका छन्, वा जसका आमाबुबा दुवै आप्रवासी छन्, ती बच्चाहरूमा गरिबीको जोखिम ३१.९ प्रतिशतसम्म पुगेको छ । गैर–आप्रवासी पृष्ठभूमिबाट आएका बच्चाहरूमा यो जोखिम केवल ७.७ प्रतिशत मात्र छ ।
बच्चाहरूमा गरिबी कसरी देखिन्छ ?
गरिबीले बच्चाहरूको सामाजिक र सांस्कृतिक जीवनमा सिधै प्रभाव पार्छ । जर्मनीमा १७ प्रकारका वस्तु वा सुविधाको आधारमा सामाजिक सहभागिता वा अभाव मापन गरिन्छ ।
यी १७ मध्ये कम्तीमा तीन सुविधा पैसाको अभावका कारण उपलब्ध नभए, ती बच्चाहरूलाई सामाजिक रूपमा वञ्चित श्रेणीमा राखिन्छ ।
गत वर्ष, जर्मनीमा १६ वर्षभन्दा कम उमेरका ११.३ प्रतिशत बच्चा र किशोर यो श्रेणीमा परेका थिए । यो अनुपात ईयूको औसत १३.६ प्रतिशतभन्दा केही कम हो ।
उदाहरणका लागि देशका १९ प्रतिशत बच्चा यस्ता घरमा बस्छन्, जहाँ भाँचिएको वा क्षतिग्रस्त फर्निचर बदल्न सम्भव नभएको पाइएको छ । १२ प्रतिशत बच्चालाई वर्षमा एकपटक एक हप्ताको बिदामा बाहिर घुम्न जान पैसाको अभावका कारण सम्भव नभएको पाइएको छ । त्यस्तै, तीन प्रतिशत बच्चासँग दोस्रो जोडी जुत्ता किन्न पर्याप्त पैसा सम्भव नभएको पाइएको छ ।
यो रिपोर्टले जर्मनी जस्तो विकसित देशमा पनि आर्थिक असमानताले बच्चा र किशोरहरूको दैनिक जीवनमा कति गहिरो प्रभाव पारिरहेको छ भन्ने स्पष्ट देखाउँछ ।


