काठमाडाैं । आज काठमाडाैं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज विहिबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौंउपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३३ ओटा मोटरसाइकल र १८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यका स्थित गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु, लगायतका विविध स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । आज बुझाइएका ५१ ओटा सहित ९१ ओटा सवारी साधन गत साउन यता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका ९ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १९ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०८०र०८१ मा ४१७ ओटा र ०८१र०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गर्नुभएको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


