काठमाडाैं । अमेरिकी सरकारको ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) अन्तर्गत सञ्चालित ‘एमसीसी नेपाल’ ले थप ५ करोड अमेरिकी डलर अर्थात् झन्डै ७ अर्ब रुपैयाँ अनुदान पाउने भएको छ । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले एमसीसी नेपाल सम्झौता अनुसार ५ करोड अमेरिकी डलर अनुदान रकम थप गर्ने घोषणा गरेका हुन् ।
थपिएको रकमसँगै सम्झौता अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् झन्डै १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर लगानी गर्नेछन् । थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउने जस्ता सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत गर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासको सूचनामा यो आर्थिक सहयोगले अमेरिका र नेपालबीच रहेको स्थायी साझेदारी प्रतिबिम्बित गर्ने दाबी छ । एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत यस इतिहासलाई निरन्तरता दिएको दूतावासले जनाएको छ ।


