काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले देशलाई निकास दिनका लागि चुनाव अपरिहार्य रहेको जनाएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावका लागि दलहरु तयार हुनुको विकल्प नरहेको जनाएका हुन् ।
‘म भन्छु– चुनाव हुन्छ । दलहरु तयार हुनुपर्छ । विश्वमा युद्धको बीचमा पनि चुनाव हुन्छ । इच्छा शक्ति चाहिन्छ । तर, सरकारले चुनावको वातावरण बनाउनुपर्छ,’– उनले भने ।
उनले अहिले आन्दोलनभन्दा पनि सहमति, सहकार्य र एकताको आवश्यकता रहेको बताए । उनले सबै राजनीतिक दलहरुले सर्वपक्षीय भेला गरेर देश बचाउने बारेमा सोच्न आवश्यक रहेको जनाए ।
देश र जनता नै सबैभन्दा ठूलो कुरा रहेको भन्दै उनले नेताहरुलाई मन्त्री र प्रधानमन्त्री बन्ने सपनामात्रै नदेख्न आग्रह गरे ।


