काठमाडौं । नेपालले विश्व व्यापार संगठन (डब्लूटीओ) मा आफ्नो प्रतिबद्धता पुन: पुष्टि गरेको छ । नेपालले डब्लूटीओमा नियमनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्राणालीमा जनाएको प्रतिबद्धता तेस्रो व्यापार नीति समीक्षा मार्फत पुन: पुष्टि गरेको हो । जेनेभामा भएको व्यापार नीति समीक्षामा नेपालको तेस्रो सहभागिता हो ।
यसै साता सोमबारदेखि जेनेभामा सुरु तेस्रो व्यापार नीति समीक्षा बुधबार सकिने छ । समीक्षा क्रममा नेपालको व्यापार तथा लगानीका क्षेत्रमा गरिएको संस्थागत, कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराइएको छ । साथै, महिला र युवा उद्यमशीलता प्रवर्द्धन, जलवायु सहनशील व्यापार संरचना विकास र देशमा लगानी आकर्षित गर्न अपनाइएका उपायलाई उजागर गरेको छ । डब्लूटीओका ४२ सदस्य राष्ट्र समीक्षा प्रक्रियामा सहभागी थिए । त्यसमा १७ सदस्यले नेपाललाई अग्रिम रूपमै १ सय ८७ भन्दा बढी प्रश्न पेस गरेका थिए । सदस्यहरूले नेपाललाई बहुपक्षीय व्यापार प्रणालीमा सक्रिय संलग्नता, मत्स्यपालन अनुदान सम्झौताका लागि प्रमाणीकरण र सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रयासका लागि प्रशंसा गरेका थिए । डब्लूटीओको व्यापार नीति समीक्षा एक महत्त्वपूर्ण पारदर्शिता प्रणाली हो ।
जसमा सहभागी सदस्य राष्ट्रले आफ्नो व्यापार नीति र अभ्यास प्रस्तुत गर्छन् । सदस्य राष्ट्रबीच सामूहिक मूल्यांकन, ज्ञान आदान–प्रदान र नीतिगत सुझावका लागि प्ल्याटफर्मका रूपमा काम गर्दै आएको छ । बैठकको अध्यक्षता काजकास्तानका राजदूतले गरेका थिए भने जापानका राजदूत टिप्पणीकर्ताको भूमिकामा थिए । नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा, राजदूत रामप्रसाद सुवेदी सहित अधिकारी सहभागी छन् ।


