काठमाडौं । ५ मंसिरका लागि नेकपा एमालेले काठमाडौंमा गर्न लागेको प्रदर्शनको जोखिम विश्लेषण गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।
७ मंसिरका लागि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्थानीय प्रशासनले ५ मंसिरमा एमालेले गर्ने भनेको प्रदर्शनलाई के गर्ला भन्ने चासो छ ।
यसअघि २५ असोजमा नेकपा एमालेको युवा संघले काठमाडौंमा गर्न खोजेको मोटरसाइकल र्याली र सभालाई जिल्ला प्रशासन कार्यालयले रोक लगाएको थियो ।
एमालेले अहिले फेरि ‘नेसनल भोलेन्टियर फोर्स’को राष्ट्रिय भेला सुरू गर्नुअघि ५ मंसिरमा बिहान ११ बजे माइतीघरबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्ने घोषणा गरेको छ ।
एमाले नेता–कार्यकर्ताहरुले सामाजिक सन्जालमा शेयर गरिरहेको प्रचार सामग्रीअनुसार मार्चपासका लागि नेता–कार्यकर्ताहरूलाई बबरमहलमा जम्मा हुन भनिएको छ । प्रचार सामग्रीमा राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।
तर, एमालेले गर्ने भनिएको मार्चपासका लागि स्थानीय प्रशासनसँग सोमबारसम्म अनुमति लिएको छैन । काठमाडौंको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एमालेका तर्फबाट सोमबारसम्म अनुमतिका लागि कोही नआएको जनाए ।
‘पाँच गते माइतीघर कि कता भनेर ब्यानर मैले पनि हरेको थिएँ,’ उनले , ‘उहाँहरू माइतीघरमा प्रदर्शन गर्ने भनेर अहिलेसम्म अनुमति लिन नआएकाे जनाउनु भयाे ।’
प्रमुख जिल्ला अधिकारी पौडेलले एमालेले गर्ने भनेको प्रदर्शनको जोखिमको विश्लेषण भइरहेको पनि जानकारी गराए ।
‘जोखिमको पार्ट हेरेर हामीले विश्लेषण गरिरहेका छौँ । प्रहरी प्रशासनले त्यसको जोखिमको विश्लेषण गरेर हेर्छ,’ उनले भने ।


