रूपन्देही । श्रीमतीको हत्या गरेको आरोपमा रूपन्देहीमा एक जना पक्राउ परेका छन् ।
सिद्धार्थनगर नगरपालिका– ८ स्थित होटल लुम्बिनीमा काम गर्दै आएकी बागलुङको निसीखोला–६, रास्कोटकी २० वर्षीया मेलिना परियारको हत्या गरेको आरोपमा उनका श्रीमान् विजय भनिने वीरबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमतीको हत्यापछि उनी फरार थिए ।
रूपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार तीन दिनअघि होटल कम्पाउन्डभित्र मेलिनाको शव फेला परेको थियो ।
अनुसन्धानका क्रममा वीरबहादुरले सामाजिक सञ्जालमार्फत अन्य महिलासँग कुराकानी गरेको विषयमा उनीहरूबीच झगडा भएको थियो । त्यही क्रममा श्रीमान्ले पत्नीलाई मादक पदार्थ सेवन गराएर हत्या गरेको खुलेको डीएसपी कार्कीले जानकारी दिए । घटनालगत्तै फरार रहेका कुँवरलाई शुक्रबार बुटवल–९ बसपार्कमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

