काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो संस्करण बराबरकै पुरस्कार दिने भएको छ। यो पटक पनि पुरस्कार राशी पहिलो संस्करणअनुरुप नै वितरण गरिनेछ।
एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको क्यानले प्रतियोगितामा यो पटक सबै हिसाबले अघिल्लो संस्करण भन्दा उन्नत गर्ने प्रयास गरेको जनाएको छ। सोमबारबाट सुरु हुने प्रतियोगितामा यो पटक अधिकांश खेल फ्लडलाइटमा खेलाइने छ।
प्रतियोगिताको विजेता टोलीले पुरस्कार स्वरूप १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यसैगरी, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख तथा चौथो स्थानमा रहने टोलीले १५ लाख पाउनेछ। जुन अघिल्लो सिजनकै पुरस्कार रकम बराबर हो।
एनपीएलको दोस्रो संस्करणमा कुल आठ फ्रेञ्चाइज टोलीको सहभागिता रहनेछ। उद्घाटन खेल पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो ४ बजे हुने कार्यतालिका रहेको छ।
गत वर्ष सम्पन्न पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो।
यो संस्करणमा क्यानले ३५ करोड रुपैयाँभन्दा बढी उठ्ने अनुमान गरेको छ। एनपीएलको दोस्रो संस्करणसम्बन्धी नेपाल क्रिकेट संघ (क्यान)को पत्रकार सम्मेलनमा बोल्दै सचिव पारस खड्काले प्रतियोगितामा ३५ करोड रुपैयाँभन्दा बढी रकम उठ्ने अनुमान रहेको जनाए।
उनले १५ करोड ३० लाख प्रायोजकबाट, ९ करोड सहभागी टिमहरुबाट , ओटिटीबाट उठेको रकमबाट ५ करोड ३० लाख रुपैयाँ कटाएर बाँकी रहेको रकमको ७१ प्रतिशत र ८ देखि १२ करोड टिकटबाट उठने अनुमान गरेको जनाए।

