काठमाडौं । सार्वजनिक बौद्धिक मञ्चले जेनजी आन्दोलनको माध्ययमबाट स्थापित नयाँ पुस्तासँग बृहत् समझदारी गर्न सरकारसँग माग गरेको छ ।
सार्वजनिक बौद्धिक मञ्चको तर्फबाट संयोजक दामोदर त्रिपाठीले प्रधानमन्त्री कार्यालयमा पेश गर्नु भएको उत्त पत्रमा जेनजी आन्दोलनको माध्ययमबाट नयाँ पुस्ता नेपाली राजनीतिक विकासको एउटा नयाँ शक्ति बन्न पुगेको र यसले दशकौंदेखि राज्य अभ्यासमा रहेको दलतन्त्र र त्यसले निर्माण गरेको प्रपञ्चको बैचारिक आधारलाई धराशायी बनाएको उल्लेख छ ।
परिवर्तित परिस्थितिमा जेनजी आन्दोलनपछि उत्पन्न नयाँ शक्तिको आधार र राजनीतिक परिस्थितिमा तीनवटा महत्वपूर्ण राजनीतिक कार्यभारहरु अगाडि बढाउन आवश्यक भएको मञ्चले ठहर गरेको छ ः
१. प्रति-सामन्तवादी विचार र अभ्यासको प्रपञ्चबाट राज्यका संस्थाहरूलाई मुक्त गर्ने ।
२. बदलिएको विश्व(समाज र नेपालको विशिष्टतामा नयाँ शैक्षिक अभियानलाई देशब्यापी लागू गर्ने ।
३. उत्पादन र सेवा क्षेत्रहरुलाई विशिष्टिकृत गर्दै सामाजिक सन्तुलनसहितको समृद्धिको महाअभियानलाई देशको नयाँ पुस्ताको माध्ययमबाट अगाडि बढाउने ।
यी कार्यभारहरु २१ औँ शताब्दीको नयाँ परिवेशमा सामाजिक(आर्थिक रूपमा समृद्ध राष्ट्र निर्माणको यात्रालाई सुरक्षित गर्ने आधारभुत उपाय हुन सक्दछन् भन्ने पत्रमा उल्लेख गरिएको छ ।
साथै, यी कार्यभारहरू हासिल गर्ने उद्देश्य सहित समकालिन राज्य-अभ्यासमा प्रतक्ष र परोक्ष तवरले संलग्न साझेदारहरूकाबीचमा नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको र प्रधानमन्त्री कार्यालयमा पेश गरिएको उक्त पत्रमा उल्लेख छ ।

