काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले खोलेको ‘जेन जी फ्रन्ट’ वैचारिकरुपमा जातीय पहिचानवादीहरुसँग निकट रहेको पाइएको छ ।
जातीय पहिचानवादीहरुले विरोध गरिरहेको ‘कोशी’ प्रदेश नामाकरणलाई फ्रन्टले पनि अस्वीकार गर्ने जनाउ यसका अगूवाहरुले दिएका छन्।
जेनजी फ्रन्टले संगठन विस्तारका क्रममा हिजो प्रदेश संयोजकहरु तोकेको थियो । त्यसक्रममा ६ वटा प्रदेशको औपचारिक नाम लिए पनि कोशी प्रदेशको नाम भने उल्लेख गरिएन । कोशीको साटो ‘प्रदेश नम्बर १’ भनेर लेखिएको छ ।
कोशी प्रदेश नामाकरण हुँदा केही जातजातिले विरोध जनाएका थिए । उनीहरुले लामो समय आन्दोलन पनि गरे, जुन पछि मत्थर भयो । त्यसैले संवैधानिक रुपमा स्थापित नाम कोशी प्रदेश नै हो । तर, यसलाई फ्रन्टले मान्यता नदिने एक अगूवाले जनाए ।
नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘हामी पहिचानवादीले उठाएको मुद्दामा सहमत छौं । कोशी प्रदेश नामाकरण स्वीकार्य छैन । त्यही भएर प्रदेश नम्बर १ भनेका हौं ।’ स्थानीय जनता कोशी प्रदेश नामाकरणको पक्षमा नरहेको दावीसमेत उनले गरे । ‘जनभावना विपरित नामाकरण गरिएको हो ।
यसलाई सच्याउनुपर्छ भन्नेमा छौं। आवश्यक परे यसका लागि संघर्ष पनि गर्न तयार छौं,’ ती अगूवाले थपे ।


