–निमकान्त पाण्डे
जेनजी आन्दोलनको असर राजनीतिक दलहरुमा देखिन थालेको छ । पुरानै ढर्रामा सञ्चालन भइरहेका राजनीतिक दलहरु अब यही पारामा अघि बढ्न नसकिने निष्कर्षमा पुगेपछि पार्टीगत संरचना परिवर्तनमा जुटेका छन् । तर, यी प्रयासहरु केवल देखावटी परिवर्तनका लागि मात्र भएका हुन् भन्ने आशंका पनि बढेको छ, जसले पुनः ती दललाई घात गर्ने निश्चित छ । जेनजी आन्दोलनपछि माओवादी केन्द्रलगायत ८ दलले एकता गर्ने भएका छन् । उता एकता प्रक्रियामा सहभागी नभएका नेता जनार्दन शर्माले वाम प्रगतिशील ध्रुवीकरण घोषणा गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका उनले वाम प्रगतिशील ध्रुवीकरण गर्न लागेको घोषणा गरेका हुन् । तर यी घोषणाहरु वामपन्थीको नाम भजाउँदै नेताहरुको स्वार्थपूर्तिको माध्यम बन्ने जोखिम उत्तिकै छ ।
हुन त पंक्तिकारले यसै पत्रिकाका विभिन्न अंकमा वामपन्थी दलहरुबीच एकता र सहकार्यमा जोड दिँदै आएको थियो । शीर्ष नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको हितमा एकजुट आवश्यक रहेको पनि बारम्बार आफ्नो आलेखमा उल्लेख गरेकै थिएँ । भ्रष्टाचार, अनियमितता र दण्डहीनतालाई रोक्ने र सच्चा कम्युनिस्ट जीवनशैली नअपनाउने हो भने कुनै पनि बेला जनताले वामपन्थी दलहरुको साथ छोड्न सक्ने जनाएको थिएँ । त्यो अवस्था गएको जेनजी आन्दोलनमा देखिएको नै छ । त्यसैले वामपन्थी नेताहरुले अब आफूलाई परिवर्तन नगरी पुनः दलहरु एकत्रित गरेर मात्रै जनताको साथ पाउन सम्भव छैन ।
यसअघि पनि वामपन्थी दल माओवादी केन्द्रको कांग्रेससँगको चुनावी तथा सत्ता गठबन्धन अप्राकृतिक मात्र नभई देश र जनताको हितमा पनि नरहेको मेरो मत थियो । दक्षिणपन्थी तथा पूँजीवादी दल कांग्रेसलाई उसकै बाटोमा हिँड्न दिनुपर्ने, उसका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न छोडिदिनुपर्ने मेरो सधैं भनाइ रहँदै आएको छ । साथै, माओवादी, एमाले जस्ता वामपन्थी दलहरुले अन्य कम्युनिस्ट दलहरुलाई पनि एकत्रित गर्दै सामूहिक सहभागितामा अघि बढ्नुपर्नेमा मेरो जोड थियो । कांग्रेस र कम्युनिस्ट आआफ्नो बाटोमा हिँड्नुपर्ने कारण हो, दुवैका अलगअलग सिद्धान्त । निश्चय नै पुँजीवादी व्यवस्थाको पक्षपोषक कांग्रेसका आफ्नै सिद्धान्त, राज्यसञ्चालनमा फरक तौरतरिका छन् । कम्युनिस्ट दलहरुको सिद्धान्त, नीति र गन्तव्य कांग्रेसभन्दा बिल्कुल फरक छन् । त्यसैले दुई ध्रुवमा रहेका यी दलहरुबीच चुनावदेखि सत्तासम्मको गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएकाले यो अप्राकृतिक गठबन्धन रहेको मत मेरो सधैं थियो । विगत केही वर्षयता कांग्रेस, कम्युनिस्ट दलबीचको सहकार्यमा बनेका दलहरु सफल पनि हुन सकेनन् । सरकार असफल हुँदा जनतामा निराशा बढ्यो, जेनजी आन्दोलन हुने अवस्था बन्यो ।
विगतमा एमाले र माओवादीबीचको एकीकरणले नेकपा घोषणा हुँदा एउटा ठूलो शक्तिशाली कम्युनिस्ट पार्टीको उदय भएको थियो । यसले नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीहरुले पाएको बद्नामीलाइ मेट्ने र विकासको मूल फुटाउने अपेक्षा गरेको थियो । कम्युनिस्ट आन्दोलनलाई एउटा उचाइमा पु¥याउने आशा गरिएको थियो । त्यो आशा धेरै समयसम्म टिक्न सकेन । यस्तो अवस्था फेरि ननिम्तिएला भन्न सकिँदैन ।
त्यसो भए, कम्युनिस्ट सहकार्यलाई सफल र देश तथा जनताकेन्द्रित कसरी बनाउने ? यसको एउटै उत्तर हो, नेताहरु विगतमा जस्तो आफ्नो स्वार्थकेन्द्रित नभई जनता केन्द्रित हुने । श्रमिक, विपन्न, किसान, युवा, महिला, बालबालिका र वृद्धवृद्धाका आम समस्यामा केन्द्रित हुने । तिनलाई तत्कालीन र दीर्घकालीन समाधानमा सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउने । जनताको मन जितेर चुनाव पनि जित्ने, राष्ट्रलाई आत्मनिर्भर बनाएर वैदेशिक हस्तक्षेप अन्त्य गर्ने । यति काम गर्न सके मात्र वाम गठबन्धन सफल हुनेछन्, नेताहरु सफल हुनेछन् ।
इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र विश्वलाई पनि देशको हितमै बुझ्ने प्रयास वामपन्थी गठबन्धनले गर्न आवश्यक छ । यसले नेपाली कम्युनिस्ट पाटीहरुको भविष्य पनि निर्धारण गर्नेछ । नेपाली कम्युनिस्ट पार्टीहरुबीचको विवादले अहिले सबै दलहरु कमजोर भएका छन् । नयाँ दलहरुको उदय भएको छ । आगामी निर्वाचनमा कम्युनिस्ट पुराना दलहरुको भविष्य संकटमा परेको छ । विगतमा कम्युनिस्ट वाम गठबन्धनलाई जनताले दुई तिहाइ हाराहारीमा मत दिएका थिए । तर, त्यो जनमतलाई सदुपयोग गर्न नसक्दा गत वर्ष भएको चुनावमा फेरि कम्युनिस्ट दलहरु ओरालो लागेका छन् । त्यसकारण एकताबद्ध भएर जनताको हितमा काम गर्न खोजे कम्युनिस्ट पार्टीको गठबन्धनलाई एकतालाई जनताले पनि अनुमोदन गर्नेछन् । तर वामपन्थी एकताको नाममा पुरानै नेता दोहोरिने, युवालाई स्थान नदिने, देश र जनताको हितभन्दा व्यक्तिगत स्वार्थमा लिप्त हुने नीति लिएमा भने आगामी चुनावमा बढारिने अवस्था आउनेछ । जनधारणा साप्ताहिक


