काठमाडौं । धनुषा, गणेशमान चारनाथ नगरपालिका-४ बिरेन्द्रबजारस्थित सडकमा सु.प्र.०१-००१ ख ३२८८ नम्बरको बसले प्र.२-०१-००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिई दुर्घटना हुँदा अटोमा सवार गणेशमान चारनाथ नगरपालिका-१ बस्ने ४० वर्षीय धन बहादुर पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र अटो चालक सोही ठाउँ बस्ने ४० वर्षीय डमर राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका धन बहादुर र डमरको न्यूरो अस्पताल जनकपुर तथा निशा र शम्भुको प्रादेशिक अस्पताल जनकपुरमा उपचारकको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुली, सुनकोशी गाउँपालिका-६ पुछिघाट पुलस्थित सडकमा ना.६ त ६५४४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका-४ बस्ने २२ वर्षीय डिल बहादुर माझीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूकुम पूर्व, भूमे गाउँपालिका-१ स्यावालस्थित सडकमा रा.१ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा अटोमा सवार भुमे गाउँपालिका-१ लुकुम बस्ने ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सविता घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल रूकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ ।
बाजुरा, बुढीनन्दा नगरपालिका-७ सास्थास्थित सडकमा सु.प.प्र.०१-००१ ख ३१८१ नम्बरको बस शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा बसका सहचालक बैतडी दशरथचन्द नगरपालिका-१ बस्ने २४ वर्षीय गणेश जोशीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मार्तडीमामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ८ जनाको नवजीवन अस्पताल धनगढी, ५ जनाको जिल्ला अस्पताल मार्तडी र १ जनाको कोल्टी अस्पताल बाजुरामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


