टोकियो । जापान सरकारले विदेशीहरुले व्यवसाय गर्नका लागि प्रयोग गर्दै आएको व्यवसाय व्यवस्थापक (बिजनेश) भिसामा संशोधन गरेको छ ।
व्यवसाय व्यवस्थापक भिसामा भएको संशोधनसँगै विदेशी नागरिकले जापानमा कम्पनी खोलेर व्यवसाय गर्नका लागि पुरा गर्नुपर्ने मापदण्ड थपिएका छन् ।
जापानको कानुन मन्त्रालय अर्न्तगत अध्यागमन विभागले जारी गरेको सूचना अनुसार गत अक्टोवर १६ तारिख (बिहीबार)बाट संशोधित नियम लागू भएको छ । उक्त नियमलाई सन् २०२८ सम्म परीक्षणकालको रुपमा लिएको छ । जापान सरकारले सन् २०२८ अक्टोवर १६ पछि उक्त नियम पूर्णरुपमा लागू हुने जनाएको छ ।
गत अक्टोवर १६ तारिख भन्दा अगाडि व्यवसाय व्यवस्थापक भिसाको आवेदन गर्नेहरुको हकमा भने पुरानै नियम अनुसार प्रक्रिया अघि बढ्ने छ ।
तीन वर्षपछि भने सबै व्यवसायीले नयाँ मापदण्ड अनुसार आवेदन दिनुपर्ने छ । हाल ५० लाख येन मूल पूँजीमा सञ्चालनमा ल्याइएका कम्पनीले पनि ३ वर्षसम्ममा कम्पनीको पूँजी ३ करोड येन पुर्याउनु पर्नेछ ।
अब नेपालबाट नै जापानमा व्यवसाय व्यवस्थापक भिसा आवेदन दिनेहरुको हकमा पनि सोही नियम लागू हुनेछ ।
कस्तो छ संशोधित नियम ?
जापान सरकारले व्यवसायलाई दिगो बनाउने उद्देश्यले पूँजी रकमको वृद्धि, कर्मचारी नियुक्ति र भाषागत क्षमताको मापदण्डमा परिवर्तन गरेको छ ।
संशोधित नियम अनुसार अब जापानमा कम्पनी सञ्चालनमा ल्याउन कम्तिमा ३ करोड येन पूँजी हुनुपर्ने छ । यसअघि ५० लाख येन पूँजी हुनुपर्ने व्यवस्था थियो । नयाँ मापदण्ड अनुसार कर्मचारी नियुक्ति प्रकृयामा पनि फेरबदल भएको छ । एकजना पूर्णकालीन कर्मचारी अनिवार्य नियुक्ति गर्नुपर्ने छ ।
कम्पनी सञ्चालक तथा पूर्णकालीन कर्मचारी मध्ये एक जनासँग जापानी भाषा क्षमता (JLPT)N2 अथवा विजनेश जापानीज प्रवीणता परीक्षामा ४ सय वा सोभन्दा बढी अंक ल्याएको हुनुपर्ने छ । यसअघि भाषा सम्बन्धी मापदण्ड थिएन ।


