बुटवल । बिगोबमोजिम रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको मागमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ ।
उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालले बिहीबार सो आदेश जारी गरेका हुन् ।
एकै प्रकृतिको मुद्दामा जोशीले पनि बिगोअनुसार रकम बुझाएर कारागारबाहिरै बसेर मुद्दाको पुर्पक्षका लागि माग गरेका थिए, तर जिल्ला अदालतले अस्वीकार गरेको थियो । त्यसपछि जोशीले उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए । यसअघि लामिछानेको माग पनि जिल्ला अदालतले अस्वीकार गरेपछि उनी उच्च गएका थिए । उच्चले यसअघि कैफियत प्रतिवेदन पेस गर्ने आदेश गरेको थियो ।
जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भएको थियो । तर, आगजनी र तोडफोडमा लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो ।


