काठमाडौं। जेन–जी आन्दोलनको क्रममा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जनाए अनुसार पक्राउ पर्नेहरुमा सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठ छन् । उनीहरुले २४ भदौको प्रदर्शनका बैंक लुटपाट गरेको आरोप छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुबाट करिब चार लाख र केही सुन पनि बरामद भएको प्रहरी स्रोतले जनाएको छ । यसअघि एक जनाले उक्त बैंकको पाँच लाख रकम प्रहरीमा बुझाएका थिए ।
जेनजी आन्दोलनको क्रममा बैंक लुट्ने समूहले फालेको ५ लाख १० हजार ५ सय रुपैयाँ ललितपुर घर भएका सुरेश देउलाले २९ भदौमा जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका थिए ।
देउलाले बैंक लुटेको बेला भिडियो खिचेका थिए । लुटेरा समूहले त्यो देखेपछि ‘तैंले यही खोजेको हो, ला’ भन्दै पैसाको बिटो फालेका थिए । त्यही रकम आफू बुझाएको देउलाले प्रहरीसमक्ष बताएका थिए । योे बैंक लुट्ने पाँच जनालाई सेनाले त्यतिबेलै पक्राउ गरेको थियो ।